नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गराउनु राज्यको प्रमुख जिम्मेवारीः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा शुभकामनमा दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन समेत जारी भएको बताउनुभएको छ ।
देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको पनि उहाँले बताउनुभएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी-पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको तर्फ पनि सरकार गम्भीर रहेको सन्देशमा उल्लेख गर्नु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्