बाँकेका कृषक पानी नपर्दा र डिएपी मल नपाउदा चिन्तित
बाँके । बाँकेका किसानहरुले रोपाइँका लागि पानीको प्रतीक्षा गरिरहँदा डिएपी मलको चरम अभाव देखिएको छ । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानहरुलाई रासायनिक मल आपूर्ति गर्दै आएका छन् ।
साल्ट ट्रेडिङ प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख मनोज चौधरीका अनुसार जेठ तेस्रो सातादेखि डिएपी मल सकिएको छ । क्षेत्रीय प्रमुख चौधरीले भने, “डिएपी मल असारको १५।२० मा आउने जानकारी आएको छ, मल यतिबेला आउने भएकाले आजकल मल लिन आउने किसानलाई फर्काउने गरेका छौं ।“
युरिया मल भने नियमित वितरण भइरहेको छ । हाल पनि कार्यालयमा १२ हजार बोरा युरिया मल मौज्दात रहेको चौधरीको भनाइ छ । साल्ट ट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगञ्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्ती–सोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले भैरहवाबाट डिएपी र युरिया मल आउने क्रममा रहेकाले अबको केही दिनमा सहकारी मार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए । एक साताभित्र युरिया ४६८ टन र डिएपी ३६० टन आउने क्रममा रहेको पौडेलले जानकारी दिए । जस अनुसार ६० प्रतिशत युरिया र २५ प्रतिशत डिएपी मल नेपालगञ्ज पुगेर गोदाममा राखिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख पौडेलले भने, “तत्काल आउने जति सबै मल आएपछि एकसाथ एक साताभित्र जिल्लाभर वितरण गर्ने योजना बनाएका छौं, तत्काल किसानलाई माग अनुसार डिएपी अभाव हुने देखिन्छ ।“
डिएपी मल रोपाइँको समयमा आवश्यक पर्ने भएकाले किसानले हाल बढी माग गर्ने गरेका छन् । कृषि सामग्री कम्पनीले किसानका लागि जिल्लामा एक सय ७ वटा सहकारीलाई रासायनिक मल वितरण गर्दै आएको छ । असारको दोस्रो साता लाग्दा नि पानी नपरेकाले बाँकेका किसानहरु चिन्तित छन् भने अर्को तिर रोपाइँको मल नपाउदा उनिहरुको चिन्ता दुइगुणा बढेको छ।








प्रतिक्रिया राख्नुहोस्