तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ कार्यक्रम सफल बनाउन सबै लाग्नुपर्ने

काठमाडाैं । सरकारको नीति तथा कार्यक्रम र बजेटमा ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ कार्यक्रम आएकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा प्रधानमन्त्रीका सरसफाइ विज्ञ खेम शर्माले नीति तथा कार्यक्रम र बजेटमा आएको अभियान सफल बनाउन सबैको सहयोग आवश्यक भएकामा जोड दिनुभयो । 

सार्वजनिक यातायातमा सरसफाइ मापदण्ड आवश्यक भएको उल्लेख गर्नुहुँदै उहाँले हवाईजहाजमा जस्तै यात्रुलाई फोहर व्यवस्थापनको सूचना दिने प्रणालीको व्यवस्था गरिनुपर्ने विचार राख्नुभयो । 

“संसारका एक सय ८९ देशमा गरिएको सरसफाइसम्बन्धी अध्ययनअनुसार नेपाल १४४ औँ स्थानमा परेकाले नेपालमा यस क्षेत्रमा धेरै गर्न बाँकी छ, देश स्वच्छ, सफा भएमात्र पर्यटक पनि आउने भएकाले विश्वकै सुन्दर देश नेपालमा सफाइ अभियानको विशेष आवश्यकता छ”, उहाँले भन्नुभयो । 

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले नाम अधिकार सम्पन्न भए पनि विसं २०७३ देखि यसलाई अधिकार नभएको संस्थाका रूपमा स्थापित गरिएको बताउनुभयो । आर्थिक वर्ष २०६६/२०६७ देखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट घरजग्गा पास गर्दा वाग्मती सभ्यता करका नाममा लिन थालिएको शून्य दशमलव पाँच प्रतिशत अझै कार्यालयको नाममा नआएको पनि उहाँले जानकारी दिनुभयो । 

समितिका आयोजना प्रमुख रवीन्द्र बोहराले फोहरमैला हेर्ने निश्चित मन्त्रालय नभएकाले पनि यसको व्यवस्थापनमा समस्या देखिने गरेको बताउनुभयो । यसअघि स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको फोहरमैला स्रोत केन्द्र खारेज गरेपछि यस विषयमा काम गर्न असहज भएको भनाइ उहाँले राख्नुभयो । बागमती सफाइ अभियानकर्मी राजकुमार भट्टराईले ज्येष्ठ शुक्ल षष्ठीलाई राष्ट्रिय सरसफाइ दिवसका रूपमा घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । नेवार समुदायले सिथि नखस् पर्वका रूपमा कुवा, इनारलगायत पानीका स्रोत सफा गरेर सिथि नखस् पर्वकै दिन फोहरमैला दिवस मनाउनुपर्ने भनाइ उहाँले राख्नुभएको हो । 

कार्यक्रममा समितिका कार्यकारी सदस्य वीरेन्द्र थपलिया, सफाइ अभियानकर्मी ताराबहादुर कुँवर, शोभाकान्त पाण्डे, चन्द्र दङ्गाल, सुमित्रा बञ्जारा, बेबी राजभण्डारीलगायतले काठमाडौँ उपत्यकाका नदी नालामा पाँच सय हप्ताभन्दा बढी समयदेखि सफाइ अभियान चलाउँदा पनि आशा गरिएअनुसारको परिणाम प्राप्त हुन नसकेको, स्थानीय सरकारले सफाइमा ध्यान नदिने गरेकाजस्ता विषय उठाउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button