तपाईँ सुन्दै हुनुहुन्छः

आधारपत्र निर्माणबारे योजना आयोगद्वारा छलफल

काठमाडौँ । योजना आयोगले आगामी १६ औँ योजनाको आधारपत्र निर्माणका लागि विभिन्न सञ्चार माध्यमका पत्रकारहरुसंग छलफल गरेको छ ।

छलफलमा सञ्चारकर्मीहरूले आगामी योजना व्यवहारिक र कार्यान्वयन योग्यका साथै चुस्त र छिटोछरितो बनाउन सुझाव दिनुभयो ।

उहाँहरूले योजना निर्माण गर्दा मुलुकको आवश्यकता र अध्ययनमा आधारित योजना र कार्यक्रम अघि सार्न र योजना आयोगले अघि सारेको योजनाको आधारमा तीनै तहहरुले विकास र पूर्वाधारका कार्यक्रमहरू अघि बढाउने व्यवस्था गर्न सुझाव दिनुभयो ।

छलफलमा योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले आगामी १६ औँ योजना दिगो विकास लक्ष्य पुरा गर्ने र मुलुकले विकासमा फड्को मार्ने गरी तयार पार्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले प्राकृतिक सम्पदाहरूको विवेकशील, व्यावसायिक प्रयोग गर्ने र डिजिटलाइजेशन र ई गर्भनेन्समा फड्को मार्ने सोच आगामी योजना मार्फत अघि सार्ने पनि जनाउनुभयो ।

सरकारले बजेटमार्फत राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने कुरालाई जोड दिएकोले योजना आयोगको पुनर्संरचना गर्दा आयोगको भूमिकालाई थप बलियो बनाइने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

योजना आयोगले यसअघि पूर्व उपाध्यक्षहरू, सदस्य तथा अर्थ र योजना विद्धहरूसँग छलफल गरी १६ औँ योजनाको आधारपत्रका सम्बन्धमा सुझाव लिएको छ ।

आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा सम्बद्धहरुसंग छलफल गरी आगामी आठ महिना भित्रमा १६ औँ योजनाको मस्यौदा तयार पार्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button