तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता बनाउनेहरूको जिल्ला प्रशासन कार्यालयमा अत्यधिक भिड

जनकपुरधाम । संशोधित नागरिकता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता दिन थालेपछि अहिले कार्यालयमा भिड बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक दिनमा १ सय जनालाई टोकन दिएपनि अहिले नागरिकता बारेमा बुझ्नका लागि भएपनि ठूलो सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेकाले कार्यालय क्षेत्रमा सेवाग्राहीको अत्यधिक भिड देखिएको छ ।

जन्मसिद्ध नागरिकता पाएकाहरूको सन्तानहरूलाई वंशजको नागरिकता प्रमाणपत्र पाउनका लागि विभिन्न प्रमाण तथा घर बसोबास प्रमाणीकरणका लागि अनिवार्य गरेपछि अहिले वडा कार्यालयहरूमा पनि सिफारिस लिनेहरूको भिड बढेर गएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ८ का वडाध्यक्ष दिनेश कुमार सिंहले कुनै पनि गैर नेपालीले नागरिकता नपाउन् भन्ने तर्फ आफू सचेत भएको बताउँदै व्यक्तिको एकिन गरेपछि मात्र सिफारिस गर्ने गरेको बताउनु भयो ।

वडा कार्यालयहरूले बसोबास प्रमाणित गर्नका लागि कर्मचारी परिचालन गर्नुका साथै दुई जना छिमेकीको सनाखत गराउने काम गरेकाले गलत व्यक्तिले नागरिकता बनाउन सम्भावना न्यून रहेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार श्रीवास्तवले जानकारी दिनु भयो ।

नागरिकता दिने क्रम फेरि त रोकिने हो त्रास पनि जन्मसिद्धका सन्तानहरूलाई रहेकाले हतार हतारमा नागरिकता बनाउने प्रयास गरिरहेका छन् । विगतमा पनि खुलेर बन्द हुँदै आएको थियो । यस पटक प्रतिनिधि सभाबाट कानून नै संशोधन गरेर नागरिकता प्रदान गरिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button