तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीका व्यवसायीको गुनासो : चर्को ब्याजले उठिबास लगाउने भो

नवलपरासी । तरल आर्थिक अवस्थाले यतिबेला व्यवसाय क्षेत्र धरासायी बन्दै गइरहेको अवस्थामा बैङ्क को चर्को ब्याजदरले निज क्षेत्र अत्तालिएका छन् ।कतिपय व्यवसायी त विस्थापित भइसकेको अवस्थामा पश्चिम नवलपरासीका उद्योगी व्यवसायीले बैङ्कको ब्याजदर एकल अङ्कमा झार्न माग गरेका छन् । चर्को ब्याजदरका कारण व्यवसाय नै धरासायी भएको भन्दै व्यवसायीहरूले बैङ्क तथा वित्तीय संस्थाहरूले एकतर्फी चर्को दरमा व्याज बढाउँदा समस्या भएको गुनासो गरेका हुन् ।

बैङ्कको चर्को ब्याजदर र समाधानको विषयमा आज जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले परासीमा गरेको सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा सहभागी व्यवसायीहरूले वर्तमान विषम परिस्थितिमा पनि बैङ्क तथा वित्तीय संस्थाहरूले ब्याजदर नघटाउँदा सडकमै उत्रनुपर्ने अवस्था आएको बताएका हुन् ।  

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले बैङ्कको चर्को ब्याजदर र करमा वृद्धि हुँदा उद्योगी व्यवसायी हतोत्साही भएको बताउनुभयो । उहाँले चर्को ब्याजदरकै कारण व्यवसायी आत्महत्या गर्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकार र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा व्यवसायी चेपुवामा परेको तिवारीको दाबी थियो । उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्ने राज्यको स्पष्ट र स्थायी नीति नहुँदा निजी क्षेत्र मारमा परेको बताउँदै उहाँले व्यवसायीको संरक्षण हुन नसके बैङ्क पनि नरहने जिकिर गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशव भण्डारीले पछिल्लो समय बैङ्कमा रकम थुप्रिरहेको तर पनि व्याज नघट्दा व्यवसायी सङ्कटमा परेको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउन सरकारले पहलकदमी नलिनु विडम्बना भएको बताउँदै भण्डारीले पुँजीगत खर्च बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ब्याजदर एकल अङ्कमा नझरेसम्म व्यवसाय फस्टाउन नसक्ने उहाँको भनाई थियो । आर्थिक मन्दीका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था, बैङ्कको चर्को ब्याजदर र ऋण तिर्न हम्मेहम्मे भइरहेको सन्दर्भमा आफूसँग भएको जग्गा जमिन बेचेरै ऋण तिर्न खोज्दा पनि सरकारले कित्ताकाट नखुलाउँदा समस्या भएको केन्द्रीय सदस्य भण्डारीले उल्लेख गर्नुभयो । यस किसिमको अराजकता बढ्दै गए बैङ्कमा ताला लगाउने स्थिति आउने भन्दै उहाँले तत्काल निकास निकाल्न ध्यानाकर्षण गराउनुभयो ।

नवलपरासी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अग्रहरीले बैङ्क मोटाइरहने, व्यवसायी दुब्लाइरहने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गर्नुभयो । बैङ्क तथा वित्तीय संस्थाहरूले लिँदै आएको ब्याजदर तत्काल एक अङ्कमा झार्न माग गर्दै अग्रहरीले यही कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले पछिल्लो पटक करमा समेत वृद्धि गर्दा उद्योगी व्यवसायी थप मारमा परेको उहाँले बताउनुभयो ।

सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले आर्थिक मन्दी र चर्को ब्याजदरका कारण प्रताडित व्यवसायीलाई बैङ्कहरूले थप मानसिक तनाव दिइरहेको बताउनुभयो । बैंकले दिने टर्चरका कारण व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै दुख ब्यक्त गर्नु भयो । साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्दै घर भाडाको उचित दर कायमका लागि पहल गर्न पनि उहाँले जोड दिनुभयो ।

पेट्रोलियम डिलर्स एसोसिएसन लुम्बिनी प्रदेशका संयोजक प्रेम न्यौपानेले ब्याजदर घट्दा बैङ्कहरूले बेस रेट नघटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । जसरी पनि व्यवसायीलाई पोस्ने बैङ्कहरूको नीति देखिएको बताउँदै न्यौपानेले नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्दीको फाइदा उठाउँदै व्यवसायीलाई अप्ठ्यारो पारेर असुली गर्ने बैङ्कहरूको नीति देखिएको भन्दै नवलपरासी चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र भण्डारीले आक्रोश पोख्नुभयो । उहाँले व्यवसाय चलायमान बनाउने वातावरण बनाउन र व्यवसायीलाई संरक्षण गर्ने कार्यक्रम ल्याउन स्थानीय सरकारको पनि ध्यानाकर्षण गराउनुभयो ।

परासी बैंकर्स संघका अध्यक्ष डिल्लीराज खनालले बैङ्कहरूमा पैसा थुप्रिन थालेकोले अब बिस्तारै सहज हुँदै जाने बताउनुभयो । उहाँले बैङ्कहरू नेपाल राष्ट्र बैङ्कको नीति निर्देशनमा चल्ने गरेको बताउँदै ब्याजदर नियन्त्रणका लागि सरकार र राष्ट्र बैङ्कलाई नै घच्घच्याउन आग्रह गर्नुभयो । ऋणीसँगै बैङ्कमा बचत गर्ने सर्वसाधारणको रकम सुरक्षा गर्ने जिम्मेवारी पनि बैङ्कको रहेकोले व्यवसायीले एकतर्फी सोच्न नहुने उहाँको तर्क थियो । देशको आर्थिक अवस्था, तरलता,माग र आपूर्ति तथा बजारको अवस्थाले गर्दा ब्याजदर सधैँ समान नहुने उहाँको भनाई थियो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले चर्को ब्याजदरका कारण व्यवसायी मारमा परेकोले यसको समाधानका लागि जिल्ला समन्वय समितिले जिल्लास्थित बैङ्क, निजी क्षेत्र तथा सरकारका प्रतिनिधिबीच सहजीकरण गरेको बताउनुभयो ।

उहाँले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मार्फत सरकारलाई ध्यानाकर्षण गराउने गरी सबै पक्ष लाग्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उक्त अवसरमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले चर्को ब्याजदरका कारण व्यवसायी तथा आम सर्वसाधारणसमेत प्रताडित भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button