तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज महानगरपालिकाको बजेट तीन अर्ब २१ करोड

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाको १३ औँ अधिवेशनमा नगरप्रमुख राजेशमान सिंहले चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार तथा पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ रु तीन करोड ६३ लाख २४ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षका लागि अनुगमन गरिएको खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड २४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट रु चार करोड ४५ लाख ९५ हजार एवं प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख बेहोरिने जनाइएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा कूल रु तीन अर्ब ४४ करोड ३४ लाख चार हजार विनियोजन रहेकामा विनियोजनको ७१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । सोमध्ये चालु खर्च दुई अर्ब १५ करोड अर्थात् ४८ प्रतिशत पूँजीगत खर्च एक अर्ब अर्थात् विनियोजनको २३ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको महानगर प्रमुख सिंहले बताउनुभयो ।

चालु आर्थिक वर्षमा समानीकरण अनुदान अन्तिम त्रैमासिकको ५० प्रतिशत कटौती, ससर्त अनुदान २० प्रतिशत कटौती, सङ्घीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँट घट्न गएको, भूउपयोग ऐनबमोजिम भूमिको वर्गीकरण प्रक्रिया टुङ्गिन समय लागेकाले जमिनको कित्ताकाट रोकिएका कारण घरजग्गा रजिष्ट्रेसन आयस्रोत समेत घटी समग्रमा राजस्व परिचालन कमजोर हुन पुगेकाले कूल राजस्व परिचालन ७० करोड संशोधित अनुमान गरिएको जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button