फोहरबाट उत्पादित ग्याँस पाइप लाइनबाट वितरण सुरु
दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ करौँती डाँडामा गल्ने फोहरबाट ग्याँस र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्याँस वितरण पनि सुरु गरेको छ ।
करौँती डाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्क रूपमा ग्याँस वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्याँस उत्पादन परियोजना तयार भएको नगर उपप्रमुख हुमा डिसीले बताउनुभयो । फोहर प्रभावित क्षेत्रका नागरिकलाई ग्याँस चुलो वितरण र घरघरमा पाइपलाइन पुर्याउने काम भइरहेको डिसीले बताउनुभयो ।
उद्योगबाट उत्पादित ग्याँस पाइप लाइनबाट वडा नं १० र १६ का एक हजार पाँच सय घरमा पुर्याइने परियोजनाको लक्ष्य रहेको उपप्रमुख डिसीले बताउनुभयो । पाइप लाइनबाट ग्याँस प्रयोग गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्याँस उत्पादन र दैनिक तीन सय क्विन्टल फोहर चाहिने भएको छ । फोहरबाट ग्याँस उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहर व्यवस्थापनमा सजिलो भएको छ । विसं २०७५ मङ्सिर ५ गते सम्झौता भई सुरु भएको परियोजना निर्माणका लागि करिब रु २२ करोड लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाले ग्याँस वितरण गरेकामा वडा नं १६ निवासी शोभा चौधरीले खुसी व्यक्त गर्नुभयो । “ग्याँस बाल्न पाउँदा धेरै खुसी लागेको छ, दाउराको प्रयोग गरेर खाना पकाउने गरेको थिए, उपमहानगरपालिकाले घरघरमा ग्याँस वितरण गरेपछि ग्याँसमा खाना पकाउने गरेको छु”, उहाँले भन्नुभयो ।
बायोग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्याँस दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्याँस वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरी बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्