तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : विभिन्न निकायका वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कानुन, न्याय तथा मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८/७९ , महालेखापरीक्षक, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

यसैगरी, मन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।  

सभामा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले नेपाल विश्वविद्यालय विधेयक २०७९ सम्बन्धी प्रतिवेदन पेस गर्नुभयो ।

यस्तै सभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह र राष्ट्रिय सभा पूर्व सदस्य एवम् संविधानसभा सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

यसअघि आजको बैठकमा सांसदहरुले समसामयिक समस्याहरूका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सभाको विशेष समयमा बोल्दै सांसदहरुले बाढ पहिरोमा परी पाँचथर,ताप्लेजुङ र सङ्खुवासभा जिल्लाका बेपत्ता भएका व्यक्तिहरूको खोजी र घाइते, पीडित तथा विस्थापित परिवारलाई राहत वितरण कार्य यथाशीघ्र गर्न ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरुले युवालाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न तथा कैलालीको गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक असार १४ गते बिहीबार दिउसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button