तपाईँ सुन्दै हुनुहुन्छः

मुल सुकेपछि दलित वस्तिमा खानेपानीको चरम अभाव

बागलुङ । बागलुङ नगरपालिका वाड नं – ८ सिगानाका १ सय ८० घर भन्दा बढी दलित समुदाय पानीको चरम अभावमा गुज्रिएका छन् ।

५० बर्ष पहिले पुरानो काठेखोला गाउँपालिका साविक रेश – १ दुरामारेबाट ल्याइएको खानेपानीको मुल सुके पछि धारामा अहिले पानी नआउने स्थानीय गिता विकले बताउनुभयो । ‘१ सय ८० परिवारको एउटा मात्र धारा छ तर त्यो धारामा एउटा गाग्री भर्न एक घण्टा लाग्छ पानी कत्रो आउँछ होला ?’ विकले प्रश्न गर्नुभयो ।

‘बिहान ३ बजेबाट पानी भर्नेको बाक्लो लाइन हुन्छ । सधैँ खानेपानी कै लागि झगडा गर्नुपर्छ । दिनभरी सबैले आलोपालो एउटा गाग्री पनि भन पाइँदैन ।’ स्थानीय लक्ष्मी परियारले जानकारी दिनुभयो । माथिल्लो गैर दलित बस्तीमा पानी आएपनि दलित वस्तिमा भने पानीको अभाव छ तर कसैले हाम्रो पिर मर्का बुझेनन् । पानी भर्न तिन घण्टादेखि कुरिरहेकी परियारको दुखेसो थियो ।

चुनाव आउँदा यो ठाउँमा पानी ल्याइदिने एजेण्डा बनाएर भोट माग्न नेताहरु आउन लागेको २० बर्ष भए पनि समस्या समाधान नभएकाे गुनासाे स्थानीयहरुकाे छ । नजिकै काठेखोला रेशमा रहेको खोलामा पानीको स्रोत भएपनि उनीहरूले पानी ल्याउन नदिएपछि पानीको स्रोतको समस्या भएको वडा अध्यक्ष छम बहादुर कार्कीले बताउनुभयो । पानीको मुहान मर्मत र सङ्कलन गरि एक घर एक धारा बनाउन बजेट परे पनि अख्तियारमा मुद्दा परेकाले समयमै काम सुरु गर्न नसकिएको अध्यक्ष कार्कीको भनाई छ ।

केही बर्ष अघि बागलुङ नगरपालिकाले काठेखोला – ७ को खान्दुलाबाट लिफ्टिङ प्रविधिबाट खानेपानी ल्याउन बजेट विनियोजन गरि मुहान र माथि गाउँमा पनि ट्याङ्की बनाएको थियो । तर अहिले उक्त आयोजना अस्तव्यस्त छ । मुहानको पानी पाइप बिच्छाएर माथि बनाइएको ट्याङ्की सम्म झार्न नसकिएको खानेपानी कार्यालयका प्रमुख तुल्सी बस्नेतले बताउनुभयो ।

लिफ्ट आयोजना आर्थिक अभावमा रोकिए पनि फेरि पुरानै मुहान संरक्षण र ट्याङ्की निर्माणका लागि ७० लाख बजेट हालिएको स्थानीय डम्बर विकले बताउनुभयाे। अहिले असार मसान्तसम्म सक्नुपर्ने आयोजना पनि सुरु नहुँदै बजेट फ्रिज हुने देखियो विकको गुनासो थियो । दलित वस्तिमा खानेपानी लैजान नगरपालिका पनि गम्भीर भएर नलागेको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button