तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सवारी दुर्घटनाबाट ११ महिनामा ७५ जनाको मृत्यु 

चितवन । चालु आर्थिक बर्ष २०७९÷०८० को साउनदेखि जेठ महिनासम्म चितवनमा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार ११ महिनाको अवधिमा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु ५२५ जना घाइते भएका हुन् । 

सबैभन्दा बढी मृत्यु हुनेमा पुरुष 

कार्यालयले दिएको तथ्याङ्क अनुसार सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा पुरुषको सङ्ख्या बढी छ । जसअनुसार सबैभन्दा बढी जेठ महिनामा १३ जनाको मृत्यु भएको मध्ये १२ जना पुरुषको मृत्यु भएको थियो भने एक जना महिलाको मृत्यु भएको थियो । सबैभन्दा कम माघमा एक जना पुरुषको मृत्यु भएको छ । 

यस्तै  कार्तिक महिनामा १० जना पुरुष एकजना बालिका, साउन महिनामा ६ जना पुरुष र तीन जना महिला, चैत्र महिनामा ८ जना पुरुष र एक जना बालिका, असोजमा ६ पुरुष एक महिला, मंसिरमा पाँच पुरुष एक एकजना बालबालिकाको मृत्यु भएको छ । 

पुसमा ३ पुरुष एक महिला र एक बालक, वैशाखमा ४ पुरुष, भदौमा ६ पुरुष र  फागुनमा ३ जना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख राजकुमार तामाङले महिलाको तुलनामा पुरुषहरू नै सवारी चालक बढी रहेकोले मृत्युको सङ्ख्या बढी भएको बताउनुभयो  । 

“जनसङ्ख्या महिलाको बढी भएपनि सवारी चालक र यात्रा गर्ने पनि बढी पुरुष नै देखिन्छ”, उहाँले भन्नुभयो, “पुरुषले बढी लापरवाही र मापसे गरेर सवारी चलाएको पाइएको छ ।”

नीजि, सरकारी दुई पाङग्रे, चार पाङ्ग्रे तथा अन्य सवारी साधनमा चालक पुरुष नै बढी संलग्न भएकोले दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष नै बढी भएको उहाँको भनाई छ । 

सवारी दुर्घटनाबाट ५२५ जना घाइते 

चालु आर्थिक वर्षको साउन देखि जेठ महिनासम्म सवारी दुर्घटनाबाट ५२५ जना घाइते भएका छन् ।  

ती मध्ये १६१ जना गम्भीर घाइते भएका थिए भने ३६४ जना सामान्य घाइते भएका छन् । 

दुर्घटनामा ११७ जना पुरुष गम्भीर घाइते र २२४ जना सामान्य घाइते भएका थिए । यस्तै सो अवधिमा ३७ जना महिला गम्भीर घाइते र ८८ जना सामान्य घाइते भएका थिए । 

कार्यालयका अनुसार ६ जना बालक गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका थिए भने १ जना बालिका गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका थिए । 

कार्यालय प्रमुख तामाङले सवारी चालक तथा मजदुर लगायतमा पुरुषकै सङ्ख्या बढी भएकोले स्वभाविक रुपमा घाइतेको सङ्ख्या पनि पुरुषकै भएको बताउनुभयो । 

सडकको अवस्था र मौसम, दुर्घटनाको प्रकृति अनुसार हरेक महिना दुर्घटनाबाट मानवीय क्षतिको सङ्ख्या घटबढ हुने उहाँको भनाई छ । 

सवारी दुर्घटना न्यूनीकरण गर्न हरेक सोमबार सवारी कक्षा सञ्चालन शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button