दैनिक छ घण्टा पैदल हिँडेर अध्ययन गर्छन् फेदीका बालबालिका
खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीमा सञ्चालित कुहुडाँडा माध्यमिक विद्यालय तापखोला किनारमा छ । कक्षा–१० सम्म अध्ययन/अध्यापन हुने उक्त विद्यालयमा फेदीको तेरावा, लामिडाँडा, पिपिङ, सुम्देसिरान र चित्रेलगायत दर्जन बढी गाउँका छात्र/छात्रा दैनिक छ घण्टा पैदल हिँडेर विद्यालय आवतजावत गर्छन् ।
तापखोला किनारभन्दा केहीमाथि रहेको विद्यालयका अधिकांश छात्र/छात्रा उँधो झर्नुपर्ने हुन्छ । बिहान ओरालो झर्न तीन घण्टाको हाराहारीमा समय लागे पनि बेलुका फर्कने क्रममा उकालो तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।
विद्यालय आउने र जाने क्रममै करिब छ घण्टा बढी समय खर्च हुने भएपछि विद्यार्थीलाई घरमा गृहकार्य र पढ्ने समय व्यवस्थापन गर्न सकस भइरहेको छ । “ओरालो भएकाले स्कुल झर्दा अलि चाँडो हुन्छ । तर, उकालो निस्कँदा तीन घण्टाभन्दा बढी समय लाग्छ”, कक्षा–९ मा अध्ययनरत थाकुकी मञ्जिता राईले भन्नुभयो, “उकालो बाटो छिचोलेर अबेर घर पुग्दा थाकेर गृहकार्य गर्नै समस्या हुन्छ ।”
थुम्की, खोलाखर्क, ठूलोखरे, माखाम्ला, शेर्पा टोल, केलसी लगायतका गाउँका विद्यार्थीलाई पनि विद्यालय आइपुग्न तीन घण्टाको हाराहारीमा समय लाग्ने गरेको प्रधानाध्यापक चन्द्र राईले बताउनुभयो ।
केपिलासगढी गाउँपालिका–१ फेदी र सोही गाउँपालिका–२ खार्ताम्छा पञ्चायत कालमा खार्ताम्छा गाविस भनिन्थ्यो । एउटै वडा भएको समयमा सेन्टरमा पर्ने गरी विसं २०१७ सालमा कुहुडाँडा मावि स्थापना गरिएको थियो ।
केपिलासगढी गाउँपालिकाका अधिकांश ठाउँमा सञ्चालित विद्यालयमा फेदीको जस्तै समस्या रहेको गाउँपालिका प्रमुख समिर राईले बताउनुभयो । “गाउँपालिकाभित्र ३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तत्काल सबैलाई पायक पर्ने ठाउँमा विद्यालय सार्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “शैक्षिक क्षेत्रको सुधारका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको छ । यस वर्षदेखि वडा नं ४ बाक्सिलामा सञ्चालित पृथ्वी माविलाई आवासीय बनाउने योजना बनाएका छौँ ।”
सात वडा रहेको उक्त गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको होमवर्क जाँच (गृहकार्य परीक्षण) कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी गाउँपालिकाकै शिक्षा शाखाले चेकजाँच गर्ने गरी कार्यक्रम लागू गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्