समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले राज्यका सम्पूर्ण संरचनालाई समावेशी बनाउन नीतिगत, कानुनी र प्रक्रियागत सुधारलाई निरन्तरता दिनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मुलुकको समग्र विकासका निम्ति आवश्यकताका आधारमा बजेट विनियोजन भएको भन्नुहुँदै विकासमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोतसाधनको न्यायपूर्ण विनियोजन गरिएको जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति व्यवस्था विगतको भन्दा सुदृढ भएकाले यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएकोमा ७१ हजार मेट्रिक टन मौज्दात रहेको र यो महिनाभित्र कलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले रासायनिक मलका लागि स्रोत सुनिश्चित गरिएको भन्नुहुँदै मल आपूर्ति र वितरण प्रणालीलाई पारदर्शी बनाउन डिजिटल प्रणाली अबलम्बन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गर्ने गरेको भन्नुहुँदै आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लिअरेन्स गर्ने काम सक्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनको मुआब्जा वितरण , सञ्चालन र व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उलेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलो पटक फैलिएको लम्पी स्किन रोग लाग्न नदिन र लागेका पशुको उपचारको लागि संघ, प्रदेश, स्थानीयतहमा कार्यरत पशुसेवा प्राविधिकको परिचालन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणका लागि सङ्घीय स्तरबाट चाँडै बजेटको व्यवस्था गरि स्थानीय तहमा पठाइने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाधीनता, भौगोलिक अखण्डता, सीमा सुरक्षाका सम्बन्धमा सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सुदृढ र प्रभावकारी बनाउन, सीमा स्तम्भको नियमित मर्मत सम्भार गर्दै जाने, बोडर आउटपोष्टको सुदृढीकरण थप स्थानमा आउटपोष्ट निमार्ण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
बैठकमा सांसद्हरु अच्युतप्रसाद मैनाली , अजय कुमार चौरासीया, अन्जनी श्रेष्ठ, अनिशा नेपाली , अब्दुल खान, अम्बिका बस्नेत अम्मरबहादुर थापा,अम्मरबहादुर रायमाझी,डा. अमरेशकुमार सिंह, अमृतलाल राजवंशी, अमृतादेवी अग्रहरी, अर्जुन नरसिंह केसी , अशोककुमार चौधरी लगायतले प्रधानमन्त्री समक्ष प्रश्न राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्