मन्त्री बस्नेतद्वारा योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालयले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका अन्तर्गत चौकोटमा योग तथा प्राकृतिक चिकित्सालयको शुभारम्भ गरेको छ ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँ विश्वविद्यालय (केयू) मा नेपालमै पहिलो योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री बस्नेतले काठमाडौँ विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगाको औपचारिक पढाई प्राकृतिक चिकित्सा क्षेत्रका लागि नमुना भएको बताउनुभयो ।

नेपाल योग विज्ञानका लागि उर्वर भूमि भए पनि त्यसको महत्त्व नबुझ्दा कस्तुरीले विना छामेजस्तो अवस्थामा भएको बताउँदै यस काममा काठमाडौँ विश्वविद्यालय (केयू) ले गरेको प्रयासको अरूले पनि अनुकरण गर्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचारिक पढाई सुरु गरेकोमा खुशी व्यक्त गर्दै सरकारले यसका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
विश्वविद्यालयले यौगिक साइन्स एन्ड वेलबिइङ विधामा चार वर्षे पाठ्यक्रम तयार गरी अध्ययन सुरु गराइसकेको छ । पनौती नगरपालिकाबाट स्वीकृति प्राप्त योग तथा प्राकृतिक चिकित्सालयमा हाल १५ शैय्या रहेका छन् ।
विश्वविद्यालयले योग, आयुर्वेद र प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न र विदेशमा समेत पुर्याउन विभिन्न योजना तयार गरिरहेको सामुदायिक सम्बन्ध विस्तार महाशाखा प्रमुख किशोर खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्