तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रसँगको एकतालाई मोर्चा गठनले फरक पर्दैन : कानुनमन्त्री श्रेष्ठ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रसँग एकतालाई मोर्चा गठनले फरक नपर्ने बताउनुभएको छ । 

काठमाडौँमा पत्रकारहरूसँगको कुराकानीमा पार्टीका सहअध्यक्ष श्रेष्ठले माओवादीसँग पार्टी एकता गर्न ८ बुँदे औपचारिक प्रस्ताव पठाएको र नेसपा त्यसको  औपचारिक जवाफको प्रतीक्षामा रहेको बताउनुभयो । 

सहअध्यक्ष श्रेष्ठले एकतापछि पार्टी नेतृत्व कसरी गर्ने, पार्टीको नाम के राख्ने, विचार सिद्धान्त, कार्यदिशा, सङ्गठनात्मक संरचना लगायतका विषयमा नेसपाको प्रस्ताव रहेको जानकारी दिनुभयो । 

पार्टी एकतालाई मोर्चा निर्माणले कुनै असर नगर्ने बताउँदै सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्रीय समिति बैठकपछि पार्टी एकताको विषय टुङ्गो लाग्ने बताउनुभयो । 

समाजवादी मोर्चा सत्ता टिकाउने अस्त्रमात्रै बन्न नहुने भन्दै श्रेष्ठले मोर्चामा आफूहरू छुटेको विषयमा टिप्पणी गर्न उपयुक्त नहुने समेत बताउनुभयो । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनुभएका पार्टीका सहअध्यक्ष श्रेष्ठले केही तत्त्वहरू संघीय व्यवस्थाप्रति भ्रम फैलाउन लागि परेको भन्दै त्यसको वर्तमान व्यवस्थाका पक्षधरहरू एक हुनुको कुनै विकल्प नरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button