तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्गीय कानुनमन्त्री सिंहलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली 

धनगढी । सवारी दुर्घटनामा परि निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको छ । 

आज धनगढी रङ्गशालामा प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीमबहादुर भण्डारीले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभयो । यसैगरी उहाँको पार्थिव शरीरमा पूर्वमुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी अधिकारी, सर्वसाधारणले पुष्पगुच्छा अर्पण गर्नुभयो । अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर धनगढी रङ्गशालामा राखिएको थियो ।

मङ्गलवार बझाङमा भएको सवारी दुर्घटनामा परि गम्भीर घाइते हुनु भएको उहाँको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा उहाँकी श्रीमती र भाउजूको समेत निधन भएको थियो । 

यसैबिच नेपाली काँग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेपाली काँग्रेस बझाङका पूर्व सभापति पृथ्वीबहादुर सिंहको असामयिक निधनप्रति गहिरो दुख् ब्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ । नेका प्रदेश सभापति बिरबहादुर बलायरले आज शोक वक्तव्य जारी गर्दै पूर्व जिल्ला सभापति सिंहको निधनको शोक घडीमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला पार्टी कार्यालयमा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउन र कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिनुभएको छ । 

नेपाली काँग्रेसको सगठन निमार्ण देखी लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदान स्मरणीय रहेको छ, उहाँको निधनले अपूरणीय क्षति पुगेको छ, शोक वक्तव्यमा भनिएको छ । यस्तै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मन्त्री सिंहको निधनप्रति गहिरो दुख ब्यक्त गरेको छ । प्रदेश अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले शोक वक्तव्य जारी गर्दै उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button