तपाईँ सुन्दै हुनुहुन्छः

इच्छाकामनामा १० वर्षे गाउँ शिक्षा योजना निर्माणका लागि सुझाव माग

चितवन । चितवनको विकट मानिएको  इच्छाकामना गाउँपालिकाले १० वर्षे गाउँ शिक्षा योजना निर्माणको लागि सुझाव माग गरेको छ ।

बिगत ६ महिनादेखि गाउँपालिकाले सामाजिक विकास समितिका संयोजक वडा नम्बर  ६ का वडाध्यक्ष लक्ष्मण चेपाङको संयोजकत्वमा गाउँ शिक्षा योजना निर्माण समिति गठन गरी सुझाव सङ्कलन गरेको हो ।

समितिले हाल  गाउँ शिक्षा योजनाको मस्यौदा बनाई सकेको र सोही मस्यौदा माथि छलफल गरिरहेको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनुभयो  । गाउँपालिकाले सोमबार मात्रै एक कार्यशाला गोष्ठी गरी शिक्षक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालासँग मस्यौदा माथि छलफल गर्दै सुझाव सङ्कलन गरेको थियो  ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा चुम्लिङटारमा शिक्षा योजना निर्माण सम्बन्धी सुझाव सङ्कलन कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । 

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत रमाकान्त शर्माले सहजीकरण गर्नुभएको थियो  । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल प्रमुख अतिथि रहनु भएको  थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button