मधेश प्रदेशमा १० हजार कुपोषित बालबालिका

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा बालबालिकाको पोषणको अवस्था निक्कै दयनीय भएको बताउँदै पोषणमा सुधारका लागि एकीकृत प्रयासको खाँचोमा जोड दिइएको छ ।
मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा सहभागीहरूले खास गरेर ६ महिना देखि ५९ महिनासम्मको बालबालिकाको पोषण सुधारका लागि तीनै तहका सरकारको एकीकृत प्रयास एवं लगानी जरुरी रहेको वक्ताहरूले बताउनभयो ।
मधेश प्रदेशमा महिलाको स्वास्थ्य अवस्थामा सुधार गरि गर्भधारण गरेदेखि नै गर्भवती महिलाको स्वास्थ्यमा विशेष हेरचाहका साथै पोषिलो खाने कुरा खान लगाउने, आइरन चक्की अनिवार्य खुवाउन लगाइने र पटक पटक स्वास्थ्यको परीक्षण गरेको खण्डमा कुपोषित शिशु जन्म लिने सम्भावनालाई कमगर्न सकिने सहभागीहरूले जोड दिनुभयो ।
मधेश प्रदेशका दलित, मुस्लिम तथा गरिब विपन्न परिवारका बालबालिकामा कुपोषणको अवस्था अझै दयनीय भएको कार्यक्रममा मधेश प्रदेशको समग्र अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक श्रवण नायकले जानकारी दिनु भएको छ ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीले मधेश प्रदेशको शहरी क्षेत्रमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि बालबालिकाहरूले जंकफूड अत्यधिक मात्रामा खाने प्रवृत्ति बढेको र रैथाने बालीको उत्पादन लोप हुन लागेकाले पोषणको अवस्था कमजोर बनेको बताउनुभयो ।
उहाँले मधेश प्रदेश मानव सूचकाङ्कको दृष्टिकोणले सातै प्रदेशभन्दा कमजोर अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताउँदै पोषणको अवस्थामा सुधारका लागि प्रदेश सरकारले यस वर्ष विशेष कार्यक्रम ल्याएपनि यसको सफलताका लागि सबै निकायको एकीकृत प्रयास आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले मधेश प्रदेशमा ६ महिना देखि ५९ महिनाका कूल बालबालिका मध्ये १० हजार बालबालिका कुपोषित रहेको बताउँदै कुपोषणलाई अभिभावहरूले सामान्य रुपमा लिने गरेको बताउनु भयो ।

उहाँले मधेश प्रदेशमा संघ तथा प्रदेश सरकारको सञ्चालन गरेको ३ वटा पोषण सुधार केन्द्रबाट वर्षको १ हजार कुपोषित बालबालिकाले लाभ पाएको बताउँदै प्रदेशमा थप ३ वटा जिल्लामा प्रदेश सरकारले पोषण सुधार केन्द्र स्थापना गर्न लागेको बताउनुभयो ।
मधेश प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि महिलाले गर्भधारण गरेदेखि नै विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो ।
युनिसेफका प्रतिनिधि आनन्द योगा तामाले मधेश प्रदेश सरकारले कुपोषण हुनबाट बालबालिकालाई जोगाउनका लागि गरेको प्रयासको सराहना गर्दै मधेश प्रदेशको मानव सूचकाङ्क कमजोर हुनुमा पोषणको अवस्था कमजोर हुनु एक कारण भएको बताउनुभयो ।

सभापतिको आसनबाट मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव झाले बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि आमाको स्वास्थ्य अवस्था, खानपान, अनिवार्य आइरन चक्कीको सेवन, गर्भ परीक्षण तथा बच्चा जन्म भएपछि जति छिटो शिशुलाई स्तन पान गराउने तर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरू, तथ्याङ्क अधिकृतहरू, स्वास्थ्य तथा योजना अधिकृतहरू, पोषणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी रहेको सो कार्यक्रममा मधेश प्रदेशमा देखिएको कमजोर पोषण अवस्थामा सुधारका लागि विशेष योजना तयार पार्ने स्वास्थ्य निर्देशनालयका पोषण कार्यक्रमका संयोजक विजय यादवले जानकारी दिनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्