वीरगंजमा धार्मिक पर्यटनको प्रचुर सम्भावना, रथयात्रामा उत्रियो लाखौँको जनसागर

वीरगञ्ज । वैभव वीरगंजको अभियानलाई साकार पार्न धार्मिक पर्यटनको केन्द्रको रुपमा वीरगञ्जलाई स्थापित गर्ने उद्देश्यका साथ आज वीरगञ्जमा आयोजित गहवामाई रथयात्रामा लाखौँको धार्मिक जनसागर उत्रिएको छ ।
आयोजक समेतले कल्पनै नगरेको धार्मिक आस्थासहित रथयात्रामा सहभागी हुन लाखौँको सङ्ख्यामा भक्तजनहरू उत्रिएपछि वीरगञ्जमा धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिएको छ ।
वीरगञ्ज महानगरपालिकाको सहयोगमा माईस्थानस्थित गहवामाईको मन्दिरको ११ औँ वार्षिकोत्सवको अवसर पारेर वीरगञ्जमा पहिलो पटक भव्य रथयात्रा निकालिएको छ ।

मन्दिर परिसरबाट सुरु भएको रथयात्रा माइस्थान चोक, घण्टाघर, रेल्वे रोड हुँदै छपकैया पुगेर रथयात्रा त्यहाँबाट, श्रीराम सिनेमा हल, बिर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान , माईस्थान चोक हुँदै पुन मन्दिर प्राङ्गणमा पुगेर समापन भएको थियो ।
रथ यात्रामा हिन्दु धर्म र संस्कृति झल्किने विभिन्न झाँकी सहित तराई–मधेशका प्रचलित लोकबाजाको साथमा देशको अन्य भूगोल, संस्कृति, भाषा र परम्परा समेतको प्रतिनिधित्व हुने किसिमको विभिन्न नृत्य, प्रस्तुत गरिएको थियो । रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न सामाजिक सङ्घसंस्था व्यापारिक प्रतिष्ठान लगायतले नगरका ठाउँ ठाउँमा चिसो पानी, सर्बत, लस्सी र जुस निःशुल्क वितरण गरेका थिए ।
रथयात्रामा सहभागी हुन बारा, पर्सा, रौतहट लगायत छिमेकी मुलुक भारतका भक्तजनहरूको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो ।

सयौँ वर्ष पुरानो इतिहास बोकेको गहवामाईको नवनिर्मित मन्दिरको उद्घाटन पश्चात् कुनै पनि कार्यक्रम नभएकोले ११ औँ वार्षिकोत्सवको अवसरमा रथयात्रा निकालिएको रथयात्रा आयोजक समितिका संयोजक श्याम पोखरेलले बताउनुभयो ।
आज साँझ गहवामाई मन्दिर परिसरमा बृहत् भजन कीर्तनको आयोजना गरिने तथा बुधबार बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण पश्चात् साँझ पूजा समापन गरिने संयोजक पोखरेलले बताउनुभयो ।
रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो बनाई फूलमाला र विभिन्न झिलिमिली बत्ती जडान गरेर दुलहीझैँ सजाइएको थियो ।
काठमाडौँ पछि वीरगञ्जमा रहेको पशुपतिनाथको मन्दिरमा महाआरती गरिएसँगै हाल वीरगञ्जमा धार्मिक पर्यटन भित्राउन विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन हुँदै आएका छन् । माईस्थानको गहवा मन्दिर र महावीर स्थानमा रहेको हनुमान मन्दिरमा आयोजित महाआरतीसँगै आर्दशनगरमा शिव पुराण पछि आज माईस्थानमा गहवामाईको रथयात्रामा उर्लिएको धार्मिक जनसागरले वीरगञ्जमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई सार्थक बनाउने अभियानमा आफू जुटेको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

सिंहकै पहलमा वीरगञ्जको शंकराचार्य प्रवेशद्वार नजिकै झण्डै १७ विगाह क्षेत्रफलमा अक्षरधाम निर्माण गर्ने कार्य तीव्र रुपमा अगाडि बढेको छ ।
स्वामीनारायण अक्षरधाम भारतको गुजरात तथा कोलकताका प्रमुख पिठाधिश अक्षरानन्द दासको वीरगञ्ज आगमनसँगै अक्षराधाम वीरगञ्जमा निर्माण गर्ने महानगरको लक्ष्य साकार बन्ने कुरामा आफू विश्वस्त रहेको नगर प्रमुख सिंहले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्