तपाईँ सुन्दै हुनुहुन्छः

देशलाई समृद्धिको नयाँ युगमा लैजान समाजवादी मोर्चा गठन गरिएको हो : नेताहरू

काठमाडाैँ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । काठमाडौँमा आज भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा साझा मुद्दा, उद्देश्य र लक्ष्यहरूको प्राथमिकतासहित चार दलको समाजवादी मोर्चा घोषणा गरिएको हो ।

घोषणा पत्रमा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले गर्ने र साझा नीति तथा कार्यक्रमलाई प्राथमिकता दिँदै, एक समितिमार्फत प्रदेश तथा स्थानीय तहसम्म मोर्चा विस्तार गर्ने घोषणा गरिएको छ । घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट सिक्दै एकता र स्वतन्त्रताको रक्षासँगै विद्यमान समस्याको समाधानका लागि समाजवादी मोर्चा नेपालको घोषणा गरिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशलाई नयाँ शिराबाट राष्ट्रिय एकता, जनताको हक अधिकारको सुनिश्चितता, सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगतर्फ लैजाने साझा उद्देश्यसहित माेर्चालाई अघि बढाइने प्रस्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रतिको जिम्मेवारीलाई नयाँ सङ्कल्पका रूपमा समाजवादी मोर्चा घोषणा राजनीतिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको महत्वपूर्ण कदम रहेको बताउनुभयो । मोर्चाले लिएका नीति, उद्देश्यलाई सडक तथा सदनबाट नयाँ अभियान र विश्वासका साथ लैजाने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

त्यस अवसरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश परिवर्तनको उद्देश्यसहित समाजवाद निर्माणको वातावरण बनाउन, सुशासन स्थापना र राजनीतिक विकृतिलाई अन्त्य गर्न समाजवादी मोर्चा गठन भएको बताउनुभयो । अध्यक्ष नेपालले समाज परिवर्तन, आर्थिक विकास, राष्ट्रियता र सामाजिक न्यायको मान्यतासहित समाजवाद प्राप्तिका लागि मोर्चा अघि बढ्ने बताउनुभयो ।

अलग पार्टीहरू आफ्नो विचार र जिम्मेवारीसँगै काम गर्नसक्ने तर मोर्चामार्फत साझा विचार, मुद्दा र लक्ष्यसहित देश परिवर्तनको प्रतिबद्धताका साथ घोषित मोर्चालाई सकारात्मक रूपमा लिन अध्यक्ष नेपालले आग्रह पनि गर्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता एवम् पुर्वप्रधानमन्त्री झलनाथ खनालले देशलाई सामाजिक र आर्थिक रुपान्तरणका लागि मोर्चाको गठन आवश्यक परेको बताउनुभयो ।

देशको कृषि, उद्योग, स्वरोजगार र स्वधीनताको रक्षाका लागि मोर्चालाई विस्तार गर्दै लैजानु आवश्यकता रहेको पनि नेता खनालले बताउनुभयो । सो अवसरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्र हित र परिवर्तनका लागि साझा मुद्दाहरूमा सहमत हुँदै समाजवादी मोर्चाको गठन भएको बताउनुभयो ।

अध्यक्ष यादवले विभेद र असमानताको अन्त्य गर्दै, मुलुकका अन्य समस्या समाधान गर्न समाजवादी समाजको निर्माणको दिशातर्फ लाग्ने साझा प्रतिबद्धताका साथ मोर्चा गठन गरिएको बताउनुभयो । यसैगरी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विषम राजनीतिक परिस्थितिलाई निकास दिन, देशको समृद्धि र स्वधिनताको प्रतिबद्धतासहित समाजवादी मोर्चा नेपालको घोषणा गरिएको बताउनुभयो । महासचिव चन्दले मुलुकका सम्पूर्ण वर्ग जातिको उत्थान र नेपाली समाजको भावना अनुरुप काम गर्न समाजवादी मार्चाको घोषणा नेपाली राजनीतिक इतिहासको नयाँ प्रयोग भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button