तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालय र राखेपबीचको काम बाँडफाँट प्रष्ट नहुँदा खेलकुदका पूर्वाधार अन्यौलमा परेको मन्त्री लिम्बुको दाबी 

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिचको काम बाँडफाँड प्रष्ट नहुँदा खेलकुदका पूर्वाधार अन्यौलमा भएको बताउनु भयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रङ्गशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लिम्बुले उक्त कुरा बताउनुभएको हो । 

युवा तथा खेलकुदको क्षेत्रमा विनियोजन भएको बजेट मध्य ८० प्रतिशत खर्च राखेपले खर्च गर्दै आएको उल्लेख गर्नुभयो । मन्त्री लिम्बुले राखेपले खेल गतिविधिको नियमन तथा प्रतियोगिता सञ्चालन गर्ने, खेल सङ्घको नियमन गर्नुका साथै खेलकुदका भौतिक संरचना समेत निर्माण गर्ने परिपाटीले गर्दा खेलकुद पूर्वाधार निर्माणमा केही ढिलाई केही स्थानमा बजेट कार्यान्वयन हुन नसकेको दाबी गर्नु भयो । मन्त्रालय र राखेपलाई युवा तथा खेलकुदको क्षेत्रमा काम गर्न सक्ने छ भनेर कानुनी मान्यता दिएकोले मन्त्रालय भन्दा राखेप बढी हाबी भएको उहाँको गुनासो थियो । 

डिसेम्बर २३ देखि चाइनामा हुने १९ औँ एसियन गेमको आवश्यक तयारी गरिएको उहाँले बताउनु भयो । उक्त गेम्सको लागि आवश्यक तयारी स्वरूप ३० करोड बजेट माग गरे पछि साँढे ६ करोड भन्दा कम बजेट विनियोजन गरेको मन्त्री लिम्बुले गुनासो गर्नु भयो । निष्पक्ष ढंगले खेलाडी छनौट गर्न निर्देशन दिँदै मन्त्री लिम्बुले पोखरामा सम्भावना भएका खेलहरूको बन्द प्रशिक्षण गराउन पहल गर्ने बताउनुभयो । 

आफु नेपाली काँग्रेस सको कोटाबाट मन्त्री भएको करिब डेढ महिना भएको उल्लेख गर्दै मन्त्री लिम्बुले खेलकुद मन्त्रालय अब सबैको ४/५ औँ रोजाइको रुपमा बनाउने गृहकार्य सुरु गर्ने दाबी गर्नु भयो । नेपाली युवा मात्र नभई विश्वका अधिकांश मुलुकमा नेपालीहरू पुगेकोले अब उनीहरूसँगको सहकार्यमा खेलकुदको विकास गर्ने गराउने रणनीतिक योजना बनाउने उहाँले बताउनु भयो । चालु आर्थिक वर्षमा १३ अर्ब ७५ करोड विनियोजन भएको बजेट आउँदो वर्षको लागि भने १ अर्ब ८८ करोड मात्र विनियोजन भएकोमा मन्त्री लिम्बुले गुनासो गर्नु भयो । 

अञ्चल र क्षेत्रिय खेलकुदका संरचनाहरू अझै पनि राख्न नहुने बताउँदै मन्त्री लिम्बुले सङ्घीयतामा पुराना संरचनालाई अब भने राख्न नहुने बताउनुभयो । 

नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीहरूको भविश्व सुनिश्चित पार्ने खेलाडीहरूको स्वास्थ्य बिमा प्रभावकारी ढंगले लागु गर्ने उहाँले बताउनु भयो । पोखरा क्षेत्रको खेलकुदको विकास र खेल पूर्वाधारको विकासको लागि आफ्नो क्षमताले भ्याएसम्म लाग्ने मन्त्री लिम्बुको भनाई थियो । 

नेपाली खेलकुदमा राजनीतिक हाबी हुँदा नेपाल जस्तो देशमा २ सय भन्दा बढी खेल संघ भएको बताउनुभयो । नेपाल ओलम्पिक कमिटी र राखेप बिचको द्धन्द रहेको बताउँदै मन्त्री लिम्बुले खेलकुदको हितमा एक हुन आग्रह गर्नु भयो । विगतमा बिग्रिएका कामको कोभिडलाई दोष दिएर अब एक भई खेलकुदको विकासमा लाग्न उहाँको भनाई थियो । 

केही कर्मचारीहरूको २८ बर्ष देखि बढुवा रोकिएकोले अब त्यसको बाटो खुल्ला गर्ने बताउँदै मन्त्री लिम्बुले प्रशिक्षण विना प्रशिक्षकले तलब खाने अब दिन कसैको नआउने दाबी गर्नु भयो । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको महासचिव राजाराम पौडेलले बताउनु भयो । यसैबिच मन्त्री लिम्बुले आइतबार पोखरा रंगशालाको समेत अवलोकन भ्रमण गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button