तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूको मनोविज्ञान र अपेक्षालाई राज्यले सम्बोधन गर्न नसक्दा देश छोड्न बाध्य : सचिव विष्ट

पोखरा । नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री गोकर्ण विष्टले पछिल्लो समय नेपाली राजनीतिमा युवाहरूको आकर्षण घट्दै जानुको कारण खोज्नुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विष्टले राजनीतिमा युवाको आकर्षण घट्दै जानुको कारण खोजी गर्न ढिलो गर्न नहुने बताउनुभयो । 

राजनीतिमा युवाहरूको आकर्षण कम हुँदै जानुले राजनीतिक दलहरूप्रति वितृष्णा पैदा भएको उल्लेख गर्नुहुँदै उहाँले नेपालका अरू राजनीतिक दलहरूप्रति भन्दा एमाले प्रति भने युवाहरूको आकर्षण बढी भएको बतउनुभयो । 

आजका युवाहरूले तीव्र गतिको परिवर्तन, विकाससँगै सुशासन र रोजगारी चाहेको भन्नुहुँदै एमाले सचिव विष्टले युवाहरूको त्यो प्रकारको मनोविज्ञान तथा अपेक्षालाई राज्यले उचित सम्बोधन गर्न नसक्दा युवाहरूले आफ्नो जीवन निर्वाहका लागि देश छोडेर बाहिर जानुपरेको बताउनुभयो । 

“आज आफ्नो मातृभूमि छोडेर युवाहरूले अन्यत्र देश गएर श्रम गरिरहनुपरेको छ, यो कारणले पनि युवाहरूको आकर्षण कम भएको छ”, उहाँले भन्नुभयो, “एमालेले अब आम युवालाई कसरी रोजगारी दिन सकिन्छ भन्ने बारे आम सम्भावनाको खोजी गर्नतर्फ ध्यान दिएको छ ।” 

उहाँले आफु श्रम तथा रोजगारी मन्त्री भएको बेलामा युवाहरूको रोजगारी सरकारको एजेन्डा बन्नुपर्छ भनेर नेपालको इतिहासमा पहिलो पटक युवाहरूको एजेण्डा सरकारको एजेण्डा बनेको स्मरण गर्नुभयो । 

युवाहरूको हितको लागि आफूहरूले नयाँ ढङ्गबाट काम गर्न खोजेको उल्लेख गर्नुहुँदै पूर्व मन्त्री विष्टले अपर्याप्त समयको कारणले ती कामले पूर्णता पाउन नसकेको बताउनुभयो ।

अबको ३० वर्षभित्र नेपालको युवा शक्तिलाई देशको विकासमा भरपुर ढंगले प्रयोग गर्न नसके जनसाङ्ख्यिक लाभबाट देशको सामाजिक, आर्थिक रुपान्तरणको सम्भावना बन्द हुने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button