सुदूरपश्चिम प्रदेश : २९ अर्ब २६ करोड ५९ लाखको बजेट सार्वजनिक
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०र०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । बजेटमध्ये चालुतर्फ कुल ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरिएको छ । यसैगरी अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत २ अर्ब ३४ करोड ७५ लाख ७० लाख बजेट रहेको छ ।

प्रस्तुत बजेटमा गरिबी निवारण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास प्राथमिकता दिएको छ । सरकारले बजेट मार्फत प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्युँताएको छ ।
आर्थिक समृद्धि र विकासलाई प्राथमिकता दिइएको बजेटमा किसानलाई सहुलियत तथा अनुदान, शून्य ब्याजदरमा कृषि कर्जाको व्यवस्था, एक स्थानीय एक पाठशाला स्थापना, कैलाली र कञ्चनपुरमा बन क्षेत्रको वैज्ञानिक नक्सांकन, बृहत् वृक्षारोपण कार्यक्रम सञ्चालन, मुख्यमन्त्री एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
यस्तै सडक पूर्वाधार विकास, एक घर एक धारा कार्यक्रम, धनगढी-अत्तरिया मनोरेल सम्भाव्यता अध्ययन, प्रदेश राजधानी निर्माणको गुरुयोजना निर्माणलाई बजेटमा समेटिएको छ । थारु समुदायको भलमन्सा व्यवस्थापन, पहाडी जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, सिकलसल एनिमियाको उपचारको व्यवस्था, स्वास्थ्य सुरक्षाका लागि बिमा कार्यक्रम, हिंसा पीडितको राहत, उद्धारका आपतकालिन कोष सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ ।
यसैगरी मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम, कृषिमा आत्मनिर्भर अभियान, एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम, मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा शैक्षिक सुधार कार्यक्रम, सहयोगापेक्षी सडक मानवमुक्त अभियान, विपद पूर्व तयारी, छात्रवृत्ति वितरण लगायत कार्यक्रम तथा योजना बजेटमा समावेश गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्