तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि पालिका स्तरीय खोप समन्वय समिति नेपालगञ्जले आयोजना गरेको एक कार्यक्रमका बीच नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका १७७ गरी ८६९ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि वैशाखसम्म “खोज र खोप” अभियान सञ्चालन गरिएको थियो । त्यस अन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

नेपालगञ्ज जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने सातौँ पालिका हो । नगरमा घरधुरी सर्वेक्षण र महिला स्वास्थ्य स्वयंसेविका परिचालनमा युनिसेफले आर्थिक तथा प्राविधिक सहयोग गरेको प्राविधिक सहयोग इकाई युनिसेफका तथ्याङ्क अधिकृत नवीन सुवेदीले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका २०७४ असार ३१ गते पूर्ण खोप घोषणा भएको थियो ।

घोषणा सभा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने बताउनुभयो । नगर प्रमुख प्रशान्त विष्टले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । । उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पुर्‍याउने सबै स्वास्थ्यकर्मीको लगन र मेहनतको सराहना गर्नुभयो । यस बर्ष फैलिएको दादुरा महामारीले पनि खोपको महत्त्व र आवश्यकता पुष्टि गरेको बताउँदै उहाँले असल स्वास्थ्यका लागि खोप अनिवार्य शर्त भएको बताउनुभयो ।

घोषणा सभा कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर १४ का स्वास्थ्य प्रमुख मोहन देवकोटा, महिला स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गर्नुभएको थियो ।

जिल्लामा अब राप्तीसोनारी बाहेक सबै पालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालबालिकालाई अहिले १३ प्रकारका रोग विरुद्ध ९ प्रकारका खोप लगाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button