जेठसम्म पातारासी गाउँपालिका भौतिक प्रगति ८० प्रतिशत
जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा भुक्तानी लिने उपभोक्ताको बाक्लो भिड छैन । जेठ अन्तिम सम्म अधिकांश भुक्तानी भइसकेकोले भिडभाड नभएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तमै पातारासीको भौतिकप्रगती ८० प्रतिशतबढी भएको छ ।
कार्यसम्पादनमा जिल्लामै अब्बल सावित भएको तातोपानी गाउँपालिकालाई पछयाउदैँ पातारासीले भौतिक विकासमा फड्को मारेको हो । ढिलोमा असार १० गते सम्म सबै योजना निर्माण सम्पन्न तथा अन्तिम भुक्तानी सक्ने लक्ष्य लिएको पातारासीले द्रुत गतिमा विकास निर्माण भइरहेका छन् ।
पातारासीका कुल योजना मध्य जेठ मसान्तसम्म १ सय ४० वटा योजना निर्माण सम्पन्न भएको इन्जिनियर नवीन शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,“पालिकाका कुल योजना सङ्ख्या १ सय ८० वटा रहेकामा हालसम्म १ सय ४० वटा सम्पन्न भइसकेका छन् । जसमध्य १ सय ३० वटा योजनाको अन्तिम भुक्तानी भइसकेको छ । भने १० वटा योजनाको कार्य सम्पन्न भइसकेको र भुक्तानी लिन बाँकी रहेको छ ।”
त्यस्तै ३६ वटा योजना निर्माणाधीन अवस्थामा रहेका छन् । भने,सरकारले चालु आवको अन्तिम किस्तामा समानीकरण अनुदानको ५० प्रतिशत बजेट कटौती गरेपछि करिब ३० देखि ४० वटा योजनाको सम्झौता रोकिएको इन्जिनियर शाहीले उल्लेख गर्नुभयो ।
ठुला ठेक्कापट्टाका क्रमागत योजनाहरू अन्तिम भुक्तानी बाँकी रहेकोले योजना सम्पन्न भएको तुलनामा वित्तीय प्रगति भने न्युन देखिएको प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“बजेट कटौतीले सम्झौता हुन रोकिएका योजनाहरूलाई आगामी बजेटमा प्राथमिकता दिइने छ ।
काममा ढिलासुस्ती नहुँदा,जनप्रतिनिधिबाट योजना छनोट समयमै हुनु,उपभोक्ता समितिको सक्रियता,प्राविधिक जनशक्तिको निरन्तरता जनप्रतिनिधि कर्मचारीको समन्वयले विगतको तुलनामा भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक देखिन्छ ।”
विगतको जस्तो भिड छैन । फाटफुट भुक्तानी भइरहेको छ । कर्मचारी जनप्रतिनिधि आगामी आवको नीति तथा कार्यक्रम बनाउन केन्द्रित भएको प्रमुख प्रशासकीय अधिकृत रावलले जानकारी दिनुभयो ।
भौतिक प्रगति८० प्रतिशत भएपनि वित्तीय प्रगति भने ३५ प्रतिशत मात्रै भएको छ । ठुला ठेक्काका योजना सञ्चालित रहेको र अन्तिम भुक्तानी दिन बाँकी रहेकोले वित्तीय प्रगति न्युन देखिएको हो । यद्यपि,८० प्रतिशत योजना सम्पन्न भएअनुसार सोही बमोजिम ८० प्रतिशत योजनाकै अन्तिम भुक्तानी भइसकेको छ ।
कुल पुँजीगत बजेट २८ करोड ६८ हजार ३३५ रुपैयाँ रहेकोमा जेठसम्मको खर्च १६ करोड ९९ लाख ८ हजार ७३७ रुपैयाँ खर्च भएको छ । चालु आव सकिन एक महिना मात्रै बाँकी रहँदा अझै ११ करोडबढी बजेट खर्च बाँकी रहेको लेखा शाखाले जानकारी दिएको छ ।
पातारासी गाउँपालिका उपाध्यक्ष तथा अनुगमन संयोजक जनमाया रोकायाले पालिकाको पुँजीगत खर्च बढाउन,गुणस्तर विकास गर्नका लागि समयमै योजना सम्झौता, अनुगमन निरीक्षण तथा भुक्तानी दिइएको बताउनुभयो । असारे विकासलाई अन्त्य नगरी स्थानीयतहको विकास दिगो र गुणस्तर नहुने भएकोले सबै संयन्त्र मिलेर समृद्ध पातारासी बनाउन आगामी आवमा पालिकाले ठोस नीति लिने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्