तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका भाँडा प्रयोगमा प्रतिबन्ध

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका भाँडा प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाले प्लास्टिकका प्लेट, गिलास र चम्चा लगायतका सामाग्रीको प्रयोगमा प्रतिबन्ध लगाइएको हाे ।

गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामाग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

´सफा मर्स्याङ्दी अभियानलाई सार्थक बनाउन प्लास्टिकजन्य बस्तुको प्रयोगलाई न्युनिकरण गर्न यस्तो निर्णय गरेका छौँ´, अध्यक्ष गुरुङले भने, `प्लास्टिकका भाँडाको विकल्पमा दुना टपरी र स्टिलका भाँडा प्रयोगमा प्रोत्साहन गर्छौँ ।´

निर्णय कार्यान्वयन गर्न पालिकाले जेठ ३२ गते सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

मर्स्याङ्दी गाउँपालिकाले चालू वर्षमा ‘सफा मर्स्याङ्दी’ अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत गाउँपालिकाले सबै गाउँटोल, बस्ती, बाटोघाटो सरसफाई अभियान चलाउनुको साथै फोहोर सङ्कलन र वर्गीकरण कार्य गरेको छ । गाउँ बस्तीमा पुगेर ट्याक्टरबाट फोहोर सङ्कलन गरि वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरेको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले बताईन ।

अभियानलाई सफल बनाउन गाउँपालिकाको हरेक टोल बस्तीहरू, संघ संस्थाहरू वरपर, सार्वजनिक स्थलहरू र खोलाहरूको सरसफाई गरिएको छ । पालिकासँगै स्थानीय पनि लागि गरेका छन् । यो अभियानले गाउँटाेल सफा र अाफुँहरूलाई उत्साहित बनाएको स्थानीय बाउँछन् ।

गाउँपालिकाले २०७६ असोजदेखि फोहोर सङ्कलन अभियान सञ्चालन गरि जथाभाबी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो ।

त्यति बेलादेखि मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको हाे । सफा मर्स्याङ्दी अभियानले फोहोरबाट हुने रोग नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख लुल घलेले बताए ।

मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभाबी नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरेको छ । फोहर सङ्कलन गरी प्रशोधन गरेर विक्री गरि आम्दानी समेत गरिएको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैँ ट्याक्टर खरिद गरेर फोहोर सङ्कलन क्यालेन्डर बनाएर गाउँ गाउँबाट फोहर सङ्कलन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताए ।

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ताहरू जागरूक हुनुपर्नेमा गाउँपालिकाले जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button