तपाईँ सुन्दै हुनुहुन्छः

एसिया कप २०२३ हाइब्रिड मोडलमा हुने

काठमाडौँ । एसिया कप २०२३ हाइब्रिड मोडलमा आयोजना हुने भएको छ । यस संस्करणको एसिया कप हाइब्रिड मोडल अनुसार पाकिस्तान तथा श्रीलङ्कामा आयोजना हुनेछ ।

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडेललाई एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अनुमोदन गरेको हो । हाइब्रिड मोडल अनुमोदनसँगै एसिया कपको मिति समेत टुङ्गो लागेको छ । एसिया कप ३१ अगस्ट बाट १७ सेप्टेम्बरसम्म (भदौ १४ देखि ३१ सम्म) आयोजना हुने भएको छ ।

जसमा श्रीलङ्का तटस्थ स्थल हुनेछ । जहाँ भारतले आफ्नो खेल खेल्ने छ । यो मोडल अनुसार पाकिस्तानमा प्रतियोगिताका १३ खेलमध्ये समूह चरणका ४ खेल हुनेछ । भारत र पाकिस्तानबिचको सबै खेल श्रीलङ्कामा खेलाइनेछ । फाइनल श्रीलङ्कामा हुनेछ ।

पाकिस्तानले सुरुमा युएईलाई दोस्रो स्थलको रूपमा प्रस्ताव गरेको थियो । सो समयमा युएईमा हुने गर्मीलाई मध्यनजर गरेर पाकिस्तान पछि हटेको बुझिएको छ ।

विश्वकपको तयारीका लागि ५० ओभरको ढाँचामा आयोजना हुने एसिया कपमा नेपालसँगै, भारत र पाकिस्तान समूह ए मा छन् । अर्को समूहमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

सन् २०२२ को ढाँचामा जस्तै प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोर राउन्डमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button