बजेट कटौतीले सम्पन्न योजनाको भुक्तानीमा समस्या

म्याग्दी । संघीय सरकारले तेस्रो चौमासिकमा स्थानीय तहको बजेट कटौती गर्दा योजनाको भुक्तानीमा समस्या भएको छ। म्याग्दीका स्थानीय तह पनि बजेट कटौतीले अप्ठ्यारोमा परेका छन् ।
तेस्रो चौमासिकको वित्तीय समानीकरण अनुदानबाट आउने रकमबाट ५० प्रतिशत बजेट कटौती गर्दा चालू बर्ष सम्पन्न भएका योजनालाई अन्तिममा भुक्तानी दिन समस्या भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । उहाँले निर्माण सम्पन्न भइसकेकै योजनाको भुक्तानी दिन समस्या भएको बताउनुभयो ।
“बजेट अनुसार योजना निर्माण गरी कार्यान्वयन गरौँ। आर्थिक वर्षको अन्तिम चौमासिकमा बजेट कटौतीले समस्या निम्त्याएको छ ।”– उहाँले भन्नुभयो। “यस बर्ष कार्यान्वयन भएका योजनाका भुक्तानी दिनका लागि आगामी वर्षमा बजेट विनियोजन गर्नुपर्ने समस्या सृजना भएको छ।”
नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुङ्गानालाई कार्यालयमा स्वागत गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले तेस्रो चौमासिकमा भएको बजेट कटौतीले कार्यान्वयन रहेका योजनालाई भुक्तानी दिन समस्या भएको उल्लेख गर्नुभयो । उहाँले आगामी वर्षमा यसरी बजेट कटौती गर्ने समस्या रोक्नलाई नेपाल नरपालिका सङ्घले दबाब सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।
संघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले योजना निर्माण धमाधम भइरहेको बेला बजेट कटौती गर्ने प्रक्रियालाई आगामी आर्थिक वर्षमा रोक्नका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले संघ र प्रदेशमार्फत हुने बजेट कटौती गर्ने समस्यालाई रोक्न सङ्घले दबाब सिर्जना गर्ने बताउनुभयो । “स्थानीय तहको आन्तरिक आम्दानी कम हुँदा बजेट कटौतीले समस्या उत्पन्न भएको छ । आम्दानीका स्रोत बढाउनतर्फ नगरपालिकाले सोच्नुपर्ने भएको छ।”– उहाँले भन्नुभयो ।
एक नगरपालिकासँग अन्नपूर्ण, रघुगंगा, मंगला, धवलागिरि र मालिका गाउँपालिकामा सञ्चालित पालिकाका गौरवका योजनाहरूमा भुक्तानी समस्याले योजनाहरू अलपत्र हुने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्