प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथिको छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल सुरु भएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल सुरु भएको हो ।
छलफलमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद नारायण प्रसाद आचार्यले सरकारले ल्याएको बजेट अपारदर्शी र मुलुकको आवश्यकता र जनताको आकाङ्क्षा विपरीत ल्याएकाले खर्च कटौतीको प्रस्ताव गरेको बताउनुभयो ।
सांसद आचार्यले वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा सांसदहरु प्रेम सुवाल, भगवती चौधरी, सूर्य प्रसाद ढकाल र गोकुल प्रसाद बास्कोटाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यसअघि, आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले इपिजी प्रतिवेदनबारे सरकारको दृष्टिकोण संसद्लाई प्रष्ट पार्नुपर्ने, नेपालको परराष्ट्रनीति र भारतको संसद् भवनमा राखेको नक्साबारे नेपाल सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पार्नु पर्ने बताउनुभयो ।
सांसद पन्तले भारतको संसद् भवनमा राखेको नक्साबारे नेपाल सरकारले विरोध जनाउँदै भारतलाई तत्काल कूटनीतिक नोट पठाउनु पर्ने बताउनुभयो ।
सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरको सम्पत्ति अपचलन गरिएको, जहाज खरिदमा सत्यता नभएको बताउनुभयो ।
सांसद रेखा यादवले नागरिकता नपाएको भन्दै एक युवाले आत्मदाह गर्ने प्रयास गरेको भन्दै नागरिकता सम्बन्धी समस्या चाँडो समाधान हुनुपर्ने बताउनुभयो ।
सांसद डा. अमरेश कुमार सिंहले आलु प्याजमा भ्याट लगाएको र प्रहरी प्रशासनले खसी माग्दा नदिएको निहुँमा किसानमाथि प्रहरीबाटै अन्याय भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको जारी आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको छलफलमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्