तपाईँ सुन्दै हुनुहुन्छः

पालिका र व्यवसायीबीचको सेटिङले सुर्खेतमा ढुङ्गा, गिट्टी बालुवाको अनियन्त्रित उत्खनन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय सरकारसँग ‘सेटिङ’ मिलाएर शङ्कास्पद हिसाबले झुप्रा खोलाको अनियन्त्रित उत्खनन भइरहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, जिल्ला समन्वय समितिका संयोजक गङ्गाराम सुनार, सुर्खेतका प्रहरी प्रमुख योगेन्द्रसिंह थापा र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीलगायतले स्थानीय झुप्रा खोलामा गरेको स्थलगत अनुगमनमा क्रममा नगरपालिका र व्यवसायीबीचको सेटिङले खोलाको अनियन्त्रित उत्खननबाट चुरे संकट पैदा भएको पाइएको हो । 

अनुगमनका क्रममा नगरपालिकाले चुरे क्षेत्रलाई नै सङ्कटमा पार्ने गरी नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) उत्खनन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत अनुमति दिएको पाइयो । स्थानीय स्रोत साधनको संरक्षणमा केन्द्रित हुनुपर्ने स्थानीय सरकारले नै व्यवसायीसँग गोप्य साँठगाँठ गरेर ढुङ्गा, गिट्टी, बालुवाको चरम दोहन गरेको पाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । 

उहाँले खोलामा ठुलठुला खाल्डा बनाएर प्राकृतिक स्रोतमाथि गरिएको अनियन्त्रित दोहनले भू–क्षय भएर चुरे क्षेत्र जोखिममा पर्ने तथा कटानका कारण जमिन स्वाहा हुने अवस्था आएको जनाउनु भयो । ‘वातावरणीय एवं पर्यावरणीय हिसाबले ठूलो विनाश निम्तिने गरी काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता गतिविधि रोक्नुपर्ने नगरपालिका नै अनियन्त्रित उत्खननमा सहयोगी बनिदियो ।’ 

उहाँले तत्काल जिल्ला समन्वय समिति, नौ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रहरीलगायतको रोहवरमा बैठक बसेर कानून विपरीत कार्य गर्नेलाई कारबाही गरिने जनाउनु भयो । जेठको पहिलो सातादेखि झुप्रा खोलामा दैनिक ३ वटासम्म एक्साभेटर र जेसीबी खोलामा हालेर नदीजन्य पदार्थ निकाल्ने काम भइरहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार उत्खननमा ठूलो औजारको प्रयोग गर्ने र नदीजन्य पदार्थ ओसार्न दर्जनौँ टिपर तथा ट्याक्टर खोलामा लैजाने गरिएको छ । ‘खोलाभित्र गहिरो खाडल बनाएर दोहन गर्ने काम भइरहेको छ । जसका कारण बर्खाका बेला खोलाले धार परिवर्तन गर्ने सम्भावना छ,’ एक स्थानीय भन्नु भयो, ‘वरपरका खेतीयोग्य जमिन बाढीको जोखिममा परेको छ । कटानका कारण चुरे क्षेत्र सङ्कटमा पर्ने गरी नगरपालिकाले उत्खननको अनुमति दिनु दुःखद् हो ।’ उहाँका अनुसार ठेकेदारले अनुमति लिएको भन्दा नदीजन्य पदार्थ बढी परिणाममा उत्खनन गर्ने गरेको छ । 

तोकिएको ठाउँबाट ढुङ्गा, गिट्टी र बालुवा उठाउनुको साटो ठेकेदारले अन्यत्र अवैध उत्खनन् गरेर मानव बस्ती, जङ्गल र प्राकृतिक सम्पदालाई असर पार्ने काम गरिरहेको स्थानीयको भनाइ छ । स्थानीय सरकारसँगको मिलेमतोमा ठेकेदारले प्रचलित कानुनको धज्जी उडाएर प्राकृतिक स्रोतमाथि अनियन्त्रित दोहन भइरहँदा पनि छानबिन र कारबाही हुन सकेको छैन । नगरपालिकाले असार १ गतेबाट भदौ मसान्तसम्म खोला उत्खननमा रोक लगाउने गरेको छ । 

जेठ अन्तिमसम्म ठेकेदारहरूले जथाभाबी हिसाबले चुरे क्षेत्रलाई नै असर पुग्ने र भविष्यमा ठुलै वातावरणीय संकट निम्तिने गरी उत्खनन गरिरहेका छन् । मङ्गलवार अनुगमनका क्रममा बराह ताल गाउँपालिकाको गिरीघाट क्षेत्रमा समेत ढुङ्गा, गिट्टी, बालुवा अनियन्त्रित उत्खनन भएको पाइएको छ । स्थानीय तह र ठेकेदारको मिलेमतोमा प्राकृतिक स्रोत साधनको चरम दोहन गरेको पाइएपछि सवारी चालक अनुमति पत्र विनाको र नम्बर नखुलेको स्काभेटरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ । 

सुर्खेत सदरमुकाम आसपासका क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा ठेकेदारको साम्राज्य तोड्न आवश्यक रहेको जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनारले बताउनुभयो । पक्की पुल आसपासका क्षेत्र भन्दा ५ सय मिटर टाढा उत्खनन् गर्नुपर्ने नियम विपरीत पक्की सरकारी संरचनालाई नै क्षति पुर्‍याउने गरि राजनीतिक आवरण ओढेका ठेकेदारलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाले जानकारी दिनु भयो । उहाँले अवैध कार्यमा संलग्न ढुङ्गा, गिट्टी, बालुवा ठेकेदारदेखि क्रसर माफियाहरूलाई समेत कानून अनुसारको कारबाहीको भागिदार बनाएर छाड्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button