‘सुशासनका लागि अनुशासन अनिवार्य शर्त’ : सांसद राठौर

नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद किशोरसिंह राठौरले सुशासनका लागि अनुशासन अनिवार्य शर्त भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज नेपालगन्जमा आयोजना गरेको ‘सुशासनका लागि साक्षात्कारमा कार्यक्रम’ मा बोल्दै उहाँले जनप्रतिनिधि र कर्मचारीहरूमा स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने बताउनुभयो । उहाँले जनभावनालाई सम्बोधन गर्ने गरी नागरिकमैत्री सेवा प्रवाहको अपरिहार्यतामा जोड दिनुभयो । विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रममा उहाँले कर्मचारीहरूलाई जनताको सेवक भएर काम गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्रकुमार चौधरीले जनताले अनुभूति गर्ने गरी सुशासन कायम गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सुशासनका लागि उपमहानगर प्रतिबद्ध रहेको बताउँदै सुशासनका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरू एकिकृत हुनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले सुशासनका लागि प्रविधिमैत्री भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्यले सर्वसाधारणसम्म सूचनाको पहुँच स्थापित हुने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुशासनका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले सेवाग्राहीलाई सन्तुष्ट पार्ने गरी सेवा प्रदायक निकायहरूले काम गर्नुपर्नेमा जोड दिँदै गुनासो सुन्ने परिपाटीको विकास हुनुपर्ने बताउनुभयो ।
रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, राप्तीसोनारीका उपाध्यक्ष मनिषासिंह थारु लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायत उपस्थित थिए ।








प्रतिक्रिया राख्नुहोस्