तपाईँ सुन्दै हुनुहुन्छः

कलाले शान्ति र शीतलता प्रदान गर्छ : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कलाले शान्ति र शीतलता प्रदान गर्ने बताउनुभएको छ ।

file photo

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीको आज अवलोकन गर्नुहुँदै उहाँले भन्नुभयो, “यहाँ आएपछि शान्ति ‘फिल’ भयो, भिडभाडबाट बाहिर निस्किएँ, शान्ति क्षेत्रमा पुगेको अनुभूति भयो, योगा गरेको जस्तो छुट्टै महसुस भयो ।” मन्त्री किराँतीले कला, संस्कृतिले देशको पहिचान बोक्ने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रदर्शनी भोलि जेठ ३० गतेसम्म जारी रहने छ । प्रदर्शनीमा विशिष्ट व्यक्तिहरूको अवलोकन भ्रमण भइरहेको र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताउनुभयो । यसपालिको प्रदर्शनीमा विदेशी कूटनीतिज्ञहरूको महत्त्वपूर्ण सहभागिता रहेको छ ।

गणतन्त्र दिवसको अवसरमा पारेर यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीमा छ सय ९५ सिर्जना समावेश गरिएको छ । प्रदर्शनी प्रतिष्ठान नक्साल र नेपाल कला परिषद्मा जारी छ । उक्त प्रदर्शनीलाई ललितकलाको क्षेत्रको महोत्सव नै मान्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button