गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको सपना हो : नैनसिंह महर

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कैलालीको गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएकाे छ । नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा महरले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सके नेपालको गौरवको विषय बन्ने धारणा व्यक्त गर्नुभयाे ।
गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए सुदूरपश्चिमका जनताले मात्र नेपालका साथै भारतका जनताले पनि उपचार पाउने बताउनुभयाे । ‘अहिले हाम्रा सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूले उपचारका लागि भारत धाउनुपर्ने अवस्था छ । हामीले विश्वविद्यालय निर्माण गरेर गेटामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके भारतका जनता पनि नेपाल आउने छन् । जसरी गेटा आँखा अस्पतालमा उपचार गर्न आउँछन्, त्यसरी नै त्यहाँ पनि आउने छन् । यसले यसै क्षेत्रको विकास हुने हो’, उहाँले भन्नुभयाे ।
विश्वविद्यालय निर्माण भए आसपास प्रदेशका जनताको स्वास्थ्यवस्था सुधारिने, छिमेकी देश भारतबाटसमेत पढ्न आउने, उपचार गर्न आउने मानिसहरूको संख्या बढ्ने भएकाले सुदूरपश्चिमको आर्थिक अवस्था र स्वास्थ्य अवस्थामा सुधार हुने महरले बताउनुभयाे ।
२०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरे पनि अहिलेसम्म ५ अर्ब ३३ करोड खर्च भइसकेको छ । गेटामा ५१ वटा भवन निर्माण भइसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्