तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिभा डबली कार्यक्रम काठमाडौँमा शुरु

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा आजदेखि काठमाडौँमा प्रतिभा डबली कार्यक्रमको आयोजना गरिएको छ ।

निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमामा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न प्रतिभा डबली कार्यक्रमको आयोजना गरिएको हो ।

यसका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तर्निहित प्रतिभा उजागर गर्ने अवसर पनि यस कार्यक्रमले प्रदान गर्ने आयोजकले जनाएका छन् ।

त्यस अवसरमा सहभागीले आफ्ना प्रतिभा प्रस्तुत गर्ने र विभिन्न कार्य क्षेत्रका सहभागीहरूको विचारलाई परिष्कृत गरिने आइडिया स्टुडियो नेपालका परियोजना संयोजक प्रज्ञा घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रमले सहयोग, सिकाइ र वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्ने र सहभागीहरूले नयाँ दृष्टिकोणहरू अन्वेषण गर्न, बहुमूल्य अन्तर्दृष्टि प्राप्त गर्न र निजामती कर्मचारीले सामना गर्ने चुनौतीहरूको लागि नवीन समाधानहरू विकास गर्न सक्ने आयोजकको विश्वास रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा गत वर्ष पनि काठमाडौँमा प्रतिभा डबली कार्यक्रमको आयोजना गरिएको थियो ।

आइडिया स्टुडियो नेपालले सोचदेखि उद्यमसम्मको नारा दिँदै वर्षेनी युवाहरूका नयाँ नयाँ बिचारहरूलाई उद्यमसम्म जोड्न पनि सहयोग र समन्वय गर्दै आएको छ ।

आजदेखि सुरु भएको प्रतिभा डबली कार्यक्रम जेठ ३२ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button