तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताल र शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ निषेध 

चितवन । भरतपुर महानगरपालिका वडा नं ७ को कार्यालयले शैक्षिक र अस्पताल आसपासको क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेध गरेको छ ।

कार्यालयले आज एक कार्यक्रम गरी उक्त क्षेत्रलाई धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेको हो ।

वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले विद्यालय र अस्पताल क्षेत्रका केही टोललाई पहिलो चरणमा निषेधित क्षेत्र घोषणा गरेका गरिएको बताउनुभयो । 

वडालाई स्वस्थ , स्वच्छ बनाउने उद्देश्यसहित यो अभियान शुरु गरिएको हो ।  काफ्लेले अभियानलाई सफल बनाउन सबैलाई सहयोगको आग्रह गर्नुभयो । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.विजयराज न्यौपानेले विश्वमा धूम्रपानका कारण हरेक सेकेन्ड ८ जनाको मृत्यु भइरहेको बताउँदै यसको न्यूनीकरण गर्न आफैँबाट शुरु गर्ने बताउनुभयो । उहाँले यस वर्षको  ‘खाना चाहियो, सुर्तीजन्य पदार्थ चाहिएन’ भन्ने नारालाई सार्थक बनाउन जोड दिनुभयो । 

वडा सदस्य अम्रिता गौतमले निषेधित क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गरेको पाइए सम्बन्धित टोल विकास संस्थाले एक सय रुपैयाँ जरिवाना तिराउने बताउनुभयो । 

सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्नुअघि राष्ट्रिय मावि कृष्णपुरदेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १ नम्बर गेटसम्म प्रभातफेरि निकालिएको थियो । 

कार्यक्रममा तेक्वान्दो खेलाडीले चुरोट र सुर्तीको डब्बालाई ‘किक’ हानेर निषेधको सन्देश दिनुभएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button