तपाईँ सुन्दै हुनुहुन्छः

‘नागरिकको सहयोगमा प्रहरीले हरेक घटनाको अनुसन्धान गर्छ’

दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेशप्रसाद जोशीले नागरिकको सहयोगमा प्रहरीले हरेक घटनाको अनुसन्धान गर्ने बताउनुभएको छ । 

बबई ३ हंसपुरमा रहेको पुरन्धारा प्रहरी चौकीको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा डिआइजी जोशीले नागरिक बिना बर्दीका प्रहरी भएको उल्लेख गर्नुहुँदै जोशीले बर्दी लगाएका प्रहरीलाई हरेक अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह समेत गर्नुभयो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमले नागरिक र प्रहरीको सम्बन्धलाई निकै नजिक गराएको भन्दै उहाँले यसलाई निरन्तरता दिइएको बताउनुभयो ।  

प्रहरीको व्यवहारले नागरिकका आधा समस्या समाधान हुने भन्दै उहाँले नागरिकप्रति उत्तरदायी भएर काम गर्न समेत आग्रह गर्नुभयो । प्रहरीको कामलाई सबैले सहयोग गरेको स्मरण गर्दै उहाँले प्रहरी हरेक नागरिकका लागि डरको नभएर भरको हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले प्रहरीले समुदायस्तरमा शान्ति सुरक्षाका लागि अहम भूमिका खेलेको भन्नुहुँदै गाउँपालिकाका हरेक प्रहरी बिटलाई सहयोग गरिएको समेत बताउनुभयो । 

गाउँपालिकाको गंगटे क्षेत्रमा प्रहरी बिट नहुँदा निकै समस्या रहेको भन्दै यसतर्फ ध्यान दिन समेत डिआइजी जोशीसँग उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बीरबहादुर वली, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका अध्यक्ष आरके सितलले बोल्नुभएको थियो । 

कार्यक्रममा भवन निर्माण प्रक्रियामा सहयोग गर्ने निर्माण व्यवसायी, प्रहरीलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो । 

तीन दशकपछि भवन हस्तान्तरण 

यसैबीच प्रहरी चौकी स्थापना भएको करिब तीन दशकपछि पुरन्धारा प्रहरी चौकीको भवन निर्माणपछि हस्तान्तरण गरिएको छ ।

२०४६ सालमा बबरपुरमा स्थापना भएको प्रहरी चौकी पुरन्धारा सितापुर, पतेरी हँुदै एक्लेचौरमा अस्थायी रुपमा सञ्चालन भएको थियो । २०५६ सालमा ईलाका प्रहरी कार्यालय खिलतपुरमा गाभिएको थियो । 

युद्धकलाको समापनसँगै २०६३ सालमा हंसपुरमा स्थापना भएको प्रहरी चौकी पुरन्धाराको भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको एक करोड ५१ लाख २८ हजार ५९० रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । 

भवन निर्माणका लागि नेपालगञ्जको एमपी कन्स्ट्रक्सन प्रालि नेपालगञ्जले २०७८ माघ १३ गते जिल्ला प्रहरी कार्यालय दाङसँग सम्झौता गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button