निःशुल्क आवासीय गार्मेन्ट मेसिन अपरेटर तालिम सञ्चालन हुँदै
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न निजी तालिम प्रदायक संस्थाहरूमा निःशुल्क आवासीय गार्मेन्ट मेसिन अपरेटर तालिम सञ्चालन हुने भएको छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयको वित्तीय सहयोगमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका पाँच सय जना महिलाहरूको सङ्ख्यालाई मात्र लक्षित गरी नौ वटा तालिम प्रदायक संस्थाहरूले तालिम सञ्चालन गर्न लागेका हुन् ।
तालिम आउँदो असार पहिलो हप्ताबाट सञ्चालन हुने सचिवालयका निर्देशक एवं प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखा प्रमुख सिता दुवाडीले जानकारी दिनुभयो ।
तालिम लिनका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र वैदेशिक रोजगारीमा जान पासपोर्ट बनाइसकेको वा सम्बन्धित निकायमा राजस्व बुझाएको हुनुपर्नेछ ।
फारम भर्नदेखि तालिम अवधिभर कुनै शुल्क नलाग्ने निर्देशक दुवाडीले जानकारी दिनुभयो । तालिम लिन इच्छुक महिलाहरूले यही जेठ अन्तिमसम्म फाराम भरिसक्नुपर्नेछ ।
वैदेशिक रोजगारी बोर्ड सचिवालयको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष १० हजारलाई लक्षित गरी महिला र पुरुष दुवैलाई दिइने निःशुल्क वैदेशिक रोजगारमूलक तालिम यसअघि सिटिइभिटी अन्तर्गतका विभिन्न प्राविधिक शिक्षालयहरूमा सञ्चालन भइसकेको छ ।
यो तालिम लिएका महिलाहरूका लागि मात्र निःशुल्क (जोर्डनको लागि) पहल गरिने जनाइएको छ ।

विभिन्न १८ विषयमा भएका सीप तालिमहरूको हाल सीप परिक्षण गरी प्रमाणपत्र दिने काम भइरहेको निर्देशक दुवाडीले जानकारी दिनुभयो । सरकारी प्राविधिक शिक्षालयहरूमा भएको पहिलो चरणको तालिमबाट झन्डै ५ हजार जना प्रशिक्षित भएका छन् ।
दोस्रो चरणमा निजी तालिम प्रदायक संस्थाहरूबाट सञ्चालन हुने छोटो अवधिको तालिम यो वर्षका लागि नयाँ अभ्यासका रुपमा सञ्चालन गर्न लागिएको र विभिन्न १२ विषयहरूमा सञ्चालन गर्न सम्झौता भइरहेको बोर्ड सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्