कपुरकोट गाउँपालिकाद्वारा नागरिक सन्तुष्टि सर्वेक्षण सुरु
सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले नागरिक सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था र प्रभावकारिता पहिचान गर्न नागरिक सन्तुष्टि सर्वेक्षण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यालयको सेवा प्रभावकारी भए नभएको, जनप्रतिनिधि र कर्मचारीले गरेको व्यवहार लगायतका विषयलाई समेटी नागरिकको घर घरमा पुगेर सन्तुष्टि सर्वेक्षण थालनी गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । नागरिक सन्तुष्टि सर्वेक्षणले समृद्धि र सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
गाउँपालिकाको नीति अनुसार प्रत्येक दुई दुई महिनामा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण भए नभएको, २३ महिना नकटेका बालबालिकाहरूको खोपको अवस्था, स्वास्थ्य संस्था तथा वडा कार्यालयमा कार्यरत कर्मचारीको व्यवहार र सेवा प्रवाह कस्तो रहेको छ भनेर नागरिक सन्तुष्टि सर्वेक्षण गरिँदै आएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।
यस्तै सर्वेक्षणमा गाई गोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा पशु प्राविधिक र गाउँपालिकाको सहयोग कस्तो रह्यो, विकास निर्माणमा कतिको सन्तुष्ट हुनुहुन्छ लगायतका विषय समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्