पोखरामा वृहत् हाफ म्याराथन दौड हुने
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा यही जेठ २७ गते भोली हाफ म्याराथन दौड हुने भएको छ ।

कास्कीमा रहेका आठ ओटा तालहरूको प्रचार प्रसारमा सहयोग पुग्ने गरि ‘‘तालदेखि तालसम्म” भन्ने मुल नाराका साथ विभिन्न तीन समूहमा हुने दौडबारे लेखनाथको भण्डारढिक रङ्गशालामा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस अवसरमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
लेखनाथ रङ्गशालाबाट सुरु हुने दौड लेखनाथका विभिन्न ठाउँको परिक्रमा गर्दै पुन लेखनाथ रङ्गशालामा आइपुग्ने छ । प्रतियोगिताको पुरुषतर्फ राष्ट्रिय खुल्ला २१ किमी, महिलातर्फ राष्ट्रिय खुल्ला १० किमी र विद्यालय तर्फ छात्रछात्राको पाँच किमीको सडक दौड हुने भएको छ ।
प्रतियोगितामा करिब आठ सय जना धावकको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता सञ्चालनमा करिब आठ लाख खर्च हुने अनुमान गरिएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।
हाफ म्याराथन दौडको २१ र १० किमी मा प्रथम हुनेलाई क्रमशः ३० हजार, द्धितिय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । विद्यालय छात्रछात्रा ५ किमी तर्फको दौडमा प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार, चौथो हुनेलाई १५ सय र पाँचौँ हुनेलाई एक हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यसैगरि म्याराथनतर्फ पोखरा च्याम्पियन एक जनालाई १० हजार नगद सहित मेडल, प्रमाणपत्रसहित उचित पुरस्कार प्रदान गरिने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्