तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लम्पी स्किनको प्रकोप : १९ हजार पशु संक्रमित

भद्रपुर, झापा । पशुहरूमा लाग्ने सरुवा रोग लम्पी स्किनको प्रकोप झापामा बढिरहेको पाइएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार झापामा करिब १९ हजार पशु यस रोगबाट संक्रमित भएका छन् । त्यसमध्ये २ सय मरेका छन् ।

जिल्लाको अर्जुनधारा नगरपालिकाबाहेक सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण फैलिएको बताइएको छ । तीमध्ये गौरादह, कचनकवल, दमक, बाह्रदशी र कमलमा संक्रमणदर उच्च छ । एक महिनाअघि गौरादहमा सबैभन्दा बढी संक्रमण रहेकोमा अहिले कचनकवलमा सङ्क्रमणको दर उच्च देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भद्रपुरले जनाएको छ ।

झापा जिल्लामा १९ हजारको हाराहारीमा पशु चौपायामा लम्पी स्किन देखिएका कार्यालय प्रमुख शितल भट्टराईले बताउनुभयो । हरेक वर्ष देखिने छालासम्बन्धी सो रोगको फैलावट यस वर्ष धेरै भएको प्रमुख भट्टराईको भनाइ छ ।

यसैबीच जिल्लाको दमक नगरपालिकाले लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रणका लागि किसानको गोठ–गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो । नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु. १० लाख बराबरको भ्याक्सिन खरिद गरेर निःशुल्क लगाउन थालेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button