गर्मी बढ्दै गएपछि वीरगञ्जका विद्यालय पुनः एक साताका लागि बन्द

बीरगंज । गर्मी थप बढ्दै गएपछि बीरगञ्ज महानगरपालिकाले पुनः एक साताका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै गर्मी झनै बढ्दै गएको र सर्वसाधारणको जनजीवन समेत थप पिडादायी भएसँगै पुन एक साताका लागि महानगर अन्तरगतका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिनुभयो ।
यसअघि गर्मीका कारण कक्षा कोठामा बालबालिकाहरू बेहोस तथा बिरामी हुन थालेपछि महानगरले ज्येष्ठ १९ गतेदेखि २६ गतेसम्म सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गरेको थियो ।
पछिल्लो समय गर्मी झनै बढ्दै गएको हुँदा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै थप एक साता अर्थात् असार १ गतेसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
अहिले पनि बारा, पर्सा लगायत तराईका जिल्लाहरूमा गर्मी घट्नुको साटो बढ्दै गइरहेको छ । चिकित्सकहरूले तातो हावा तथा लु चलेको हुँदा सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सुझाव दिएका छन् ।
वीरगञ्जलगायत तराई मधेशमा आज अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । बिहीबार मात्रै वीरगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस रहेको थियो ।
मौसम पूर्वानुमान शाखाले अहिले पानी पर्ने सम्भावना नरहेको भन्दै अझैँ कहिदिन गर्मी रहने र तातो हावा चल्ने भएको हुँदा सचेत हुन आग्रह गरेको छ ।
गर्मीका कारण वीगरञ्जमा समेत खानेपानीको हाहाकार भएको छ । नगर क्षेत्रका हजारौँ खानेपानीका चापाकल धारा सुकेपछि सर्वसाधारण प्रभावित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्