तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका करिब ११ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

सल्यान । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि सल्यानमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन । 

सल्यानमा हालसम्म १० हजार ९ सय ८२ नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । 

राष्ट्रिय जनगणना २०७८ का अनुसार सल्यानका कुल जनसङ्ख्या २ लाख ३८ हजार ५ सय १५ रहेको छ । यीमध्ये झिनो प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय सल्यानका संयोजक लाल बहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार ज्येष्ठ नागरिक ३ हजार ७५१, अति अशक्त तथा अपाङ्गता भएका ८१०, महिला स्वयंसेविका ४०६, कुष्ठरोगी १६, एचआइभी सङ्क्रमित ३९ जनाले बीमा गराएका छन् । 

यस्तै, प्रिमियम तिरेर ५ हजार ९२२ जनाले स्वास्थ्य बीमा गरेको उहाँको भनाई छ । लक्षित समुदायको प्रिमियम नेपाल सरकारले नै तिरिदिने गरेको खड्काको भनाई छ । नयाँ आर्थिक वर्षदेखि कर्णाली प्रदेश सरकारले ख वर्गका अपाङ्गता भएका नागरिकको ५० प्रतिशत प्रिमियम तिर्ने निर्णय गरेकाले बीमा गर्नेको सङ्ख्यामा वृद्धि आउने आशा गरिएको उहाँको भनाई छ । 

नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बीमाप्रति आकर्षण बढ्न नसकेको खड्काले बताउनुभयो । सबै स्थानीय तहहरुले स्वास्थ्य बीमा सम्बन्धी अपनत्व लिएर काम गर्न सके नागरिक स्वास्थ्य बीमा गर्न आकर्षण बढ्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको बीमा कार्यक्रममा स्थानीय सरकारले पनि उत्तिकै जबाफदेही हुन जरुरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button