सरकारले जनताको मन जित्नेगरि काम गर्नुपर्छ : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धन सरकारले जनताको मन जित्नेगरि काम गर्नुपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अहिले जनतामा निराशा छाएकाले कामको अनुभूति हुनेगरि सरकार सञ्चालन हुनुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकोले वर्तमान गठबन्धन बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचिएको प्रष्ट पार्नु भयो । उहाँले गठबन्धनको वर्तमान सरकार निरन्तर रही रहने प्रष्ट पार्नुभयो ।

उहाँले कोशी प्रदेशमा गठबन्धनका दलहरूका निर्णयहरू स्प्रिटका आधारमा कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्दै प्रदेशमा वर्तमान राजनैतिक घटनाक्रमको विकासले ठोस निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।
एक प्रश्नमा उहाँले ‘लिम्पियाधुरा र लिपुलेक माथि नेपालको हक अधिकार छ र कसैले यसलाई खोसेर लान सक्दैन र लान पनि दिइन्न भन्दै नेपालले यसको विकल्पमा अरू केही सोच्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘कुनै देशमा आफ्नो सांस्कृतिक नक्सा राख्ने अधिकार राख्छ भने त्यस्तो अधिकार हाम्रो देश नेपाललाई समेत रहेको छ’ ।
महामन्त्री थापाले पार्टीभित्र परिवर्तनको चाहनालाई अभिव्यक्ति गर्ने मुख्य थलो आगामी भदौमा हुने नीति अधिवेशन भएको बताउँदै यसले पार्टीका केही निर्णयहरूको बारेमा पुनः विचार गर्ने र पार्टीलाई ठिक ठाउँमा उभ्याउने बताउनुभयो ।
पछिल्लो समय पार्टीप्रति युवापुस्तामा नैरश्यता छाएकाले पार्टीमा रूपान्तर आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले सङ्गठनलाई बलियो बनाउन आफु तल्लो तहमा रहेका कार्यकर्ता बीच जाने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्