‘प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विकासका लागि उपलब्धिमूलक’
धनुषा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको बताउनुभएको छ ।
उद्योग मन्त्री रिजालले जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा आज सङ्घको राजर्षि सभाहलमा आयोजना गरिएको व्यापारिक अन्तरक्रिया कार्यक्रममा भारत भ्रमणका क्रममा नेपालको जलविद्युत्, पर्यटन तथा व्यापारको क्षेत्रमा पनि उपलब्धिमूलक भएको बताउनुभयो ।
सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने उहाँको भनाइ थियो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने जिकिर गर्दै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले औद्योगिक विकासबिना समृद्ध नेपाल तथा सुखी नेपालीको लक्ष्य हासिल गर्न कठिन भएको उल्लेख गर्दै युवालाई रोजगारीमा नलगाएसम्म मुलुकलाई अगाडि बढाउन कठिन भएको बताउनुभयो ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जनकपुर क्षेत्रको औद्योगिक, व्यापारिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक सुझावसहितको पाँच बुँदे ज्ञापनपत्र बुझाउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहसहितका वक्ताहरूले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्