तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

सप्तरी । सप्तरीका सामुदायिक विद्यालयका कर्मचारीहरू विभिन्न माग राखी आन्दोलनमा उत्रिएका छन् । 

सामुदायिक विद्यालयका कर्मचारीहरू साँचो बुझाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सप्तरी अगाडि आइतबार देखि धर्नामा बसेका हुन । आर्थिक वर्ष ०८०/८१ को बजेटमा पनि आफ्ना समस्या र मागलाई सम्बोधन नगरिएकोले आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारीहरू बताउँछन्। 

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायित्वको विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिए पनि बजेटमा नसमेटिएकोले विभिन्न माग राखी आन्दोलन सुरु गरेको कर्मचारीहरूले बताउनु भयो । नेपाल विद्यालय कर्मचारी परिषद्, सप्तरीका अध्यक्ष भगवती प्रसाद चौधरीले सेवा सुविधाको लागि लामो समय देखि सङ्घर्षरत रहेपनि सरकारले कहिले पनि ध्यान नदिएको गुनासो गर्नु भयो । 

धर्नामा बसेकी राजविराजको एक प्राथमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत रेणु कर्णले सरकारले पूर्ण सेवा सुविधा नदिँदा जीवन कष्टकर बनेको बताइन। बिहानै स्कुल जान्छौँ, स्कुल खोल्ने सफा गर्ने, खाजा पकाउने थुप्रै कामहरू गर्नुपर्छ, त्यस बापत मासिक ८ हजार रुपैयाँ मात्र पाउँछौँ उहाँले भनिन्’ यतिमा जीवन कसरी चल्छ, आफ्ना बच्चाहरूलाई कसरी पढाउन सकिन्छ, त्यसमा पनि जागिरको कुनै ग्यारेन्टी छैन । विद्यालय कर्मचारी राष्ट्रिय आन्दोलन परिचालन समितिको संयोजक बबन मिश्रले गत भदौमा नेपाल सरकार र विद्यालय कर्मचारीबिच तह अनुसारको सेवा सुविधा दिने सहमति भएपनि कार्यान्वयन नगरिएको बताउनुभयो । 

विद्यालयमा लेखापाल पदमा काम गर्नेलाई नासु सरहको सेवा सुविधा र कार्यालय सहयोगीमा काम गर्ने विद्यालय कर्मचारीलाई निजामती कर्मचारीमा जुन श्रेणी विहीनको सेवा सुविधा दिने सहमति भएको थियो ।  उहाँले भन्नुभयो, भदौ १९ मा सहमति भयो, नेपाल सरकारले त्यस सहमतिलाई केही कार्यान्वयन नगरी आज गर्छु भोलि गर्छु बजेटबाट सम्बोधन गरिदिन्छु भन्दै अगाडी बढाउँदै गयो । 

बजेट भन्दा पहिला नीति तथा कार्यक्रमको १२७ नम्बर बुँदामा विद्यालय कर्मचारीको सेवा सुविधा बारेमा सम्बोधन गरेको थियो, तत्पश्चात् हामी ढुक्क भए अब हाम्रो समस्या समाधान हुन्छ उहाँले थपे, तर जेठ १५ गते बजेटमा विद्यालय कर्मचारीको बारेमा रतिभर पनि शब्दको प्रयोग गरेन । उहाँले त्यसकै वेदना सहन नसकेर शनिबार मात्रै सुन्दर हरैंचाका विद्यालय कर्मचारी मनिल ढकालले आत्मदाह गरेको बताउनु भयो। यति हुँदाहुँदै पनि सरकारले हाम्रो कुरा नसुनेपछि बाध्य भएर आन्दोलन थालेको बताउनुभयो ।

 ‘हामी मर्यादित नेपाली हौँ, एकैचोटी ठुला एक्सन लिऔँ भन्ने भएन, उहाँले भन्नुभयो राज्यलाई दबाब दिन बाध्य भएर चरणबद्ध रुपमा आन्दोलन घोषणा घोषणा गरेको छौँ।

उहाँहरूको जेठ २६ गतेसम्म जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौँ स्थित भद्रकालीमा रिले अनसन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुन्जेल सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गर्ने आन्दोलनको कार्यक्रम रहेको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button