भरत तालमा मधेश प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ उद्घाटन

सर्लाही । सर्लाहीको बागमतीमा मधेश प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ उद्घाटन गरिएको छ ।
आज बागमती नगरपालिकास्थित भरत ताल परिसरमा तयार पारिएको स्काई साइक्लिङको उद्घाटन गरिएको हो ।
स्काई साइक्लिङको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, मधेश प्रदेश सांसद जवाहरलाल कुशवाह र समिर भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
योसँगै अब भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा ‘स्काई साइक्लिङ’ को मज्जा समेत लिन सकिने भएको हो ।
ताल किनारमा निर्माण भएको ‘स्काई साइक्लिङ’ औपचारिक रुपमा सञ्चालन गरिएको सञ्चालक बागमती ईन्टरटेनमेन्टका प्रमुख गौतम खड्काले जानकारी दिनुभयो ।
तारको लट्ठामा झुण्डिएको साइकल चलाउनु निकै साहसिक खेलको रुपमा मानिन्छ । मनोरञ्जनसँगै साहसिक खेलको रुपमा लिइने यस ‘स्काई साइक्लिङ’ पछिल्लो समय साहसिक खेलका पारखीहरूको रोजाइको खेलको रुममा समेत विकास हुँदै गएको छ । यसले ताल परिसरमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।

भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ । यस ‘स्काई साइक्लिङ’ जमिन सतहदेखि ३७ फिट उचाइमा, २ सय १३ फिट लामो रहेको बागमती ईन्टरटेनमेन्टले उल्लेख गरेको छ । पर्यटकको मनोरञ्जन तथा सयरका लागि भरत तालमा तिन दर्जन मोटर बोट र एउटा मिनि क्रुज समेत सञ्चालनमा छ ।
८५ लाख लागतमा निर्माण सम्पन्न भएको यस ‘स्काई साइक्लिङ’ मा दुई वटा रोप लाइनबाट एक पटकमा तीन जनासम्मले साइकल चलाउन सक्ने व्यवस्था गरिएको छ ।
नगरको पहिचानका रुपमा रहेको भरत ताल पर्यटन, पर्यावरण, रोजगारीसँगै नगरको आर्थिक उपार्जनको माध्यम बन्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्