सिञ्जालाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने
जुम्ला ।खस भाषा साहित्य र नेपाली सभ्यताको उद्गम स्थल जुम्लाको सिञ्जा क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । आइतबार कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा खस भाषाको उद्गम स्थल सिञ्जालाई विशेष पर्यटकीय स्थलका रुपमा विकास गरिने उल्लेख गरिएको हो ।
प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमको बुँदा नं. २९ मा खस राज्यको प्रवर्तक नागराजको प्रतिमा स्थापना गरी खस राजधानी सिञ्जालाई विशेष पर्यटकीय स्थलका रुपमा दरबार क्षेत्रको विकास गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
एक वर्षमा १० हजार युवालाई रोजगारी दिने,कर्णालीमा उत्पादित वस्तुको ब्राण्डिङ,लेवलिङ प्याकेजिङ सहित बजारीकरण गर्ने,साक्षर प्रदेश घोषणा गर्ने,एक जिल्ला एक औद्योगिक ग्राम देखी नमुना विद्यालय स्थापना गर्ने लगायतका विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
१७ पेजको १११ बुँदाको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले केही पुराना नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । भने केही नयाँ नीतिलाई समेटेको छ । समृद्ध कर्णाली,खुसी कर्णालीको नारालाई सफल बनाउन कर्णालीको जल,जमिन,जडिबुडी,कृषि,जङ्गलको परिचालन र तथा प्रशोधन गर्ने नीतिलाई समेत प्राथमिकता दिइएको छ ।
कृषि तथा पशु प्रविधिलाई कृषकलाई कृषि प्राविधिक परिचालन कार्यक्रम लागू गर्नेदेखि ‘कर्णालीले जे बेच्छ मूल्यवान् उपज बेच्छ’ भन्ने अवधारणा अनुसार मूल्यवान् लोगो प्रदान गर्ने तथा ब्राण्डिङ्ग, लेवलिङ, र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमको निरन्तरता दिइएको छ ।
यस्तै उत्पादनमुखी कृषकलाई प्रोत्साहन भन्ने मूल्यका साथ परिणाम तथा नतिजामा आधारित उत्पादन, सङ्कलन, ढुवानी र बजारीकरणमा सहयोग गरिनेछ । उद्योग स्थापनाका लागि लागत र परिणामको आधारमा स्थानीय तह, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
माछा, मासु, दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषि तथा पशुपक्षी बिमालाई थप प्रभावकारी बनाइने छ भने बैङ्क तथा वित्तीय संस्थाबाट दिएको कर्जालाई भूमिहीन, सीमान्तकृत कृषकलाई प्रोत्साहन गर्न लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख परियारले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्