तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत 

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

आइतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

प्रस्तुत गरेको नीति तथा कार्यक्रम केही पुराना त केही महत्त्वाकाङ्क्षी योजना समावेश भएका छन् । प्रदेश सरकारले गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गर्ने र खेतीका लागि संघ सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ  ।

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यसै वर्षदेखि पोखरामा डायलासिस सेवा सर्वसुलभ ट्रमा सेन्टर सञ्चालन गर्नेदेखि १० बर्ष मुनीका बालबालिका र ६० बर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने बताइएको छ । 

गण्डकी प्रदेश सरकारले सामाजिक तथा स्वास्थ्य सेवामा धेरै कार्यक्रमहरू बनाएको छ । त्यसबाहेक शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । 

त्यस्तै, एक निर्वाचन क्षेत्र एक प्रविधि मैत्री कृषि फार्म सञ्चालन गर्ने, कृषि, स्वास्थ्य, एक निर्वाचन क्षेत्र एक नमुना घरबास, मुटु रोग अस्पताल र बालरोग अस्पताल स्थापना, झण्डै एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन, स्थानीय मदिराको ब्राण्डिङ र बजारीकरण, स्वदेशी काठका सामग्रीलाई प्रोत्साहन, कालिगण्डकी नदीमा जलमार्ग सञ्चालन लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन् । मर्स्याङ्दी, कालिगण्डकी लगायत कोरिडोरमा एकीकृत कृषि कार्यक्रम सुरु गर्ने नीति पनि छ ।

भिमाददेखि नवलपुरको डेढगाउँ र नवलपुरको डेढगाउँ–झ्यालवास खण्ड, बागलुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दीको दानादेखि मुस्ताङको घाँससम्म र लमजुङको शीतल पाटीदेखि नाल्माफेदीसम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिनेदेखि बुढीगण्डकी र उत्तर गङ्गा जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत आयोजना कार्यान्वयनको लागि संघ सरकारले प्रदेश सरकारसँग समन्वय गर्ने वातावरण बनाउने उल्लेख छ । 

लिफ्टिङ खानेपानी आयोजना र लिफ्टिङ सिँचाइ योजनाको विद्युत् महसुलमा शत प्रतिशतसम्म अनुदान दिइने नीति तथा कार्यक्रममा समावेश भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button