धार्चे गाउँपालिकाका आठ जना सगरमाथा आरोहीलाई सम्मान

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका आठ जना सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।
लाप्राक समाज काठमाडौँद्वारा समाजले सगरमाथा आरोहण गरेका आठ र प्याराग्लाइडिङ क्षेत्रमा योगदान पुर्याएका एक गरी नौ जनालाई सम्मान गरेको हो ।
धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका पुरबहादुर गुरुङ (युक्त), इमान गुरुङ, सुमन गुरुङ, सन्दिप गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ, वडा नं ३ उहियाका ओमबहादुर गुरुङ र वडा नं ५ सिङलाका बिसबहादुर गुरुङ सम्मानित हुनुभएको हो ।
सगरमाथा आरोहण गरी आफ्नो गाउँको नाम राख्न सफल भएकाले उहाँहरूलाई सम्मान गरिएको समाजका अध्यक्ष श्रीबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँहरूले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान राख्न सफल हुनुभएको थियो ।
वडा नं ४ लाप्राकका अनिल गुरुङलाई सम्मान गरिएको छ । साहसिक खेलकुदमा रुपमा रहेको प्याराग्लाइडिङ क्षेत्रमा आबद्ध भई गाउँको नाम राख्न सफल भएकाले उहाँलाई पनि सम्मान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
समाजले सबै जनालाई प्रशंसाको प्रमाणपत्र सहित खाता लगाएर सम्मान गरेको हो ।
लाप्राक समाज काठमाडौँका अध्यक्ष बहादुर गुरुङको अध्यक्षता तथा वडा नं ४ का वडा अध्यक्ष किसान गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य सुदिप गुरुङ, गाउँपालिकाको निवर्तमान अध्यक्ष सन्तोष गुरुङ, समाजका सल्लाहकारहरू सुनार गुरुङ, रामकुमार गुरुङ, इमानसिंह गुरुङ, मुलाल गुरुङ, मणि गुरुङ लगायत धार्चे गाउँपालिकाका स्थानीयहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्