आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौँ । नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ ।
एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्त रुपमा उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
पुस्तकमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले पुर्याउनुभएको योगदान र व्यक्तित्वबारे समाजका विभिन्न विधामा ख्याति कमाउनुभएका विद्वान विदुषीका धारणा समेटिएको छ ।
पुस्तकमा वरिष्ठ कवि एवं साहित्यकार केदारनाथ व्यथित, माधवप्रसाद घिमिरे, मोहन कोइराला, ईश्वर बल्लभ, चूडामणि बन्धु, तारानाथ शर्मा, भुवन ढुङ्गाना, प्राध्यापक आनन्ददेव भट्ट, प्रा.डा. खगेन्द्र लुइँटेल, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा. महादेव अवस्थी, सिद्धिचरण श्रेष्ठ, प्रा शिव गोपाल रिसाल, सूर्यविक्रम ज्ञवाली र रमा शर्माबाट विभिन्न अवसरमा प्रदान गर्नुभएको शुभकामना सन्देश तथा धारणा समावेश छन् ।
विसं २००६ बाट नेपाली साहित्यको उन्नयनमा निरन्तर अतुलनीय योगदान दिँदै आउनुभएका स्रष्टा चटौत आजै ८८ वर्ष प्रवेश गर्नुभएकाले उहाँलाई कार्यक्रममा अभिनन्दन समेत गरियो ।

पुस्तकमा उहाँले सुदूरपश्चिमको डोटी क्षेत्रका चार पुस्ता अघिदेखिका भाषा, साहित्य र संस्कृतिसम्बन्धी सङ्कलन गरिएका तथ्य एवं तथ्याङ्क प्रस्तुत गर्नुभएको छ ।
डा.पुष्पराज भट्ट प्रधान सम्पादक रहनुभएको उक्त कृतिमा एक सय ७८ लेख समेटिएका छन् । पुस्तक लोकार्पण गर्दै आयोगका अध्यक्ष मगरले अहिलेको भौतिकवादी संसारमा हराइरहेका भाषा, साहित्य, संस्कृति र शब्दको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कवि र साहित्यकारले आफूले चाहे अनुसारको काव्य संसार निर्माण गर्छन्, आध्यात्मले पुनः जीवनको कल्पना गरे पनि विज्ञानवादीले पुनः जीवनलाई स्विकार्दैन ।” वरिष्ठ साहित्यकार तुलसी दिवसले चटौतले डोटेली भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन तथा दुर्गम क्षेत्रमा रही नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पु¥याउनुभएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको इतिहास शासकको मात्र छ, शासित र विभिन्न जातजातिको पनि इतिहास लेखिनुपर्छ, स्थान विशेषका कला, साहित्य र संस्कृतिलाई उजागर गर्ने पाटोमा सबैबाट योगदान हुनुपर्छ ।” नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले आरडी चटौतले नेपाली वाङ्मयको विकास र विस्तार एवं गुणस्तरीय तुल्याउने विषयमा इतिहास रच्नुभएको बताउनुभयो ।
प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइलाले एक देश, एक भाषाको लहर चलिरहेका बेला स्रष्टा चटौतले मातृभाषाप्रतिको चिन्ता र जागरणले डोटेली भाषालाई सुगम बनाउने कार्यमा ठूलो योगदान भएको बताउनुभयो ।
पुस्तकका लेखक चटौतले शारीरिक अवस्था र स्वास्थ्यले निकै चुनौती खडा गरिएको अवस्थामा पुस्तकलाई निष्कर्षमा पुर्याउने हुटुहुटीले सफलता पाएकामा निकै हर्ष व्यक्त गर्नुभयो ।
एनडी प्रकाशन स्मृति प्रतिष्ठान महेन्द्रनगर प्रकाशक रहेको उक्त कृति सात सय ७८ पृष्ठको छ भने मूल्य रु नौ सय ९९ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्